खोटाङ, २७ चैत । नेपाली कांग्रेस खोटाङको कार्यालयमा वीपी कोइरालाको अर्धकद्को सालिक स्थापना गरिएको छ । कांग्रेसको स्थापना दिवसको अवसरमा आइतवार कांग्रेसको दिक्तेलस्थित वीपी स्मृति भवनमा वीपीको अर्धकद्को सालिक स्थापना गरिएको हो ।
कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको वीपीको सालिक ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले अनावरण गरेका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा वीपीको सालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिषरमा स्थापना गरिएको हो ।
सालिक अनावरण तथा स्थापना दिवस कार्यक्रममा कांग्रेस प्रदेश १ का सदस्य लोकेन्द्र राई, बिमला राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, पूर्व पार्टी सभापति नरेश श्रेष्ठ, पूर्व पार्टी सभापति तथा पूर्वराज्यमन्त्री सर्वधन राई लगायत महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य सहितिका पदाधिकारी तथा सदस्य, नगरपालिका गाउँपलिका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।
वीपी कोइरालाको जन्म वि.स.१९७१ भदौ २४ गते भएको थियो भने उनको निधन २०४९ साउन ६ गते भएको हो ।