खोटाङको साकेला गाउँपालिका अध्यक्षका उम्मेद्वार रविप्रकाश राईले खाद्यन्नमा आत्मनिर्भर तथा तरकारी र फलफुल निर्यात गर्ने गाउँ बनाउने प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् ।
३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उठेका राईले कृषिमा आधुनिकीकरण गरी खाद्यन्नमा आत्मनिर्भर तथा तरकारी फलफुल निर्यात गर्ने गाउँ निर्माण गर्ने प्रतिवद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
१४ बुँदे मुख्य प्रतिवद्धता–पत्रमा हरेक नागरिकको स्वास्थ्य बीमा साथै दिर्घ रोगीको निःशुल्क स्वास्थ्य परीक्षण, युवालाई व्यवसायिक सीप, तालिम प्रदान गरी क्षमता अनुसारको रोजगारीको सुनिश्चितता, गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्यको ग्यारेन्टी, सुरक्षित प्रजनन स्वास्थ्य, मातृत्व तथा बालबिकासको विषय समेटिएको छ ।
यस्तै, गरिब, दलित, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, युवा तथा महिलाहरुका लागि शसक्तीकरण, अभिमुखीकरण साथै प्रशिक्षण कार्यक्रम, प्रविधिमैत्री डिजिटल गाउँपालिका तथा सन्तुलित विकासको नमुना गाउँ, स्वच्छ खानेपानी, सुलभ विजुली तथा व्यवस्थित सञ्चार सेवाको व्यवस्था गर्ने भनिएको छ ।
प्रतिवद्धता–पत्रमा व्यवस्थित उयातायात, सिँचाचाई तथा पुर्वाधार विकास, साकेला ज्ञान केन्द्र स्थापना र सञ्चालन, साकेला साँस्कृतिक गाउँ निर्माण, आवधिक रुपमा सार्वजनिक सुनुवाई तथा नागरिक परीक्षण, वैज्ञानिक तवरले वन, वातावरण र विपिद व्यवस्थापन गर्ने उल्लेख छ । साकेलामा कांग्रेसले सरिता खड्कालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।