खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको प्रतिपक्षी सरकार निर्माण गरेको छ । नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको पूर्ण वैठकलएमाले खोटाङका सचिव तथा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नगरप्रमुखका प्रत्यासी कुमार आचार्यलाई प्रतिपक्षी सरकार प्रमुख बनाउने निर्णय गरेको हो ।
नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्यको अध्यक्षतामा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज उषाकला राईको प्रमुख आतिथ्यतामा मंगलबार पुष्पलाल स्मृति भवनमा बसेको बैठकले प्रतिपक्ष सरकार प्रमुखले गर्नुपर्ने १३ काम औंलाएका छन् ।
प्रतिपक्षी सरकार प्रमुखले निर्वाचित स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने, जनताका दिनानुदिनका समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्नुपर्ने, स्थानीय तहले गर्नुपर्ने योजना छनोट लगायतका सम्पूर्ण कामहरु सर्वपक्षीय, सर्वदलीय छलफल र सहमतीबाट निर्णयमा पुग्ने विधि अवलम्बन गर्ने, स्थानीय तहले गर्ने विकास निर्माणका काममा प्रदेश र संघीय सरकारसँग समन्वय गर्न पहल प्रयत्न गर्ने रहेको छ ।
यस्तै, प्रतिपक्षी सरकारमा रहेकाले कुनै पनि उपभोक्ता समिति र नगरपालिकाले गर्ने आर्थिक गतिविधिमा समावेश हुन नपाईने, राजनीति आस्था, विचारका आधारमा कर्मचारी, उपभोक्ता समिति लगायत विभिन्न निकाय र सत्ताबाट आम जनसमुदायलाई दुःख दिने काम भएमा शसक्त प्रतिवाद र आन्दोलनको नेतृत्व गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको अवधारणा अपानउनु पर्नेछ ।
स्थानीय सरकारले गर्ने हरेक कामको सर्वदलीय, सर्वपक्षीय सहभागितामा सार्वजनिक लेखापरीक्षण गर्नुपर्ने, स्थानीय सरकारले सञ्चालन गर्ने हरेक योजनाको अनुगमन र निरीक्षण गर्ने, अन्य राजनैतिक दलहरु, सर्वपक्षीय सरोकारवाला व्यक्तिहरु, स्थानीय सरकार र निजी क्षेत्रसँग समन्वय गरी काम गर्ने तथा स्थानीय सरकारले गर्ने सवै सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता, पक्षधरता र एकलौटीपना रोक्न सशक्त भूमिका निर्वाह गर्नुपर्ने प्रतिपक्षी सरकार प्रमुखको मुख्य काम हुने नगर कमिटि अध्यक्ष आचार्यले बताए ।
बैठकले स्थानीय निर्वाचनको मसिनोसँग समिक्षा गर्ने, चुनावमा घात प्रतिघात गर्नेहरुप्रति पार्टी निर्मम हुनुपर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।