खोटाङ । भ्रष्टाचार र महंगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय प्रांगण प्रवेशमा रोक लगाइएको छ । भ्रष्टाचार, महंगी र मूल्यवृद्धि शुक्रबार बिरुद्ध धर्ना दिन गएको राप्रपाको टोलीलाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्न रोक लगाइएको हो ।
धर्नाका लागि मुल गेटबाट प्रवेश गर्न खोज्दा प्रहरीले मालपोत कार्यालयतर्फको गेटबाट पस्न लगाएको तर मालपोततर्फको गेटमा पनि ताला लगाएर छेकेको राप्रपाका अध्यक्ष ललितकुमार राईले बताए ।
दिउँसो १ बजेपछि राप्रपाको नेता तथा कार्यकर्ता नारा जुलुससहित धर्ना दिन प्रशासनतर्फ गएको थियो । तर प्रशासनभित्र प्रवेश गर्ने दुबै गेटमा ताला लगाइएको थियो । गेटमा ताला लागेकाबेला कतिपय सेवाग्राही अलमलमा परिरहेका देखिएका थिए । अन्य ठूला दललाई प्रशासनभित्र प्रवेश गर्न दिइएकोमा राप्रपालाई हेप्ने काम भएको अध्यक्ष राईले बताए ।

राप्रपाले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलव्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलव्ध गराउन, अतिक्रमित भूमी फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दै आएको छ ।
कृषकलाई मल र बीउ उपलव्ध गराउन माग गर्दै राप्रपाले गत १७ जेठमा राँके जुलुस प्रर्दशन गरेको थियो । यस्तै, १३ असारमा कृषि ज्ञान केन्द्रमा धर्ना दिनुका साथै बजारमा जुलुस निकालेको राप्रपाले जनाएको छ । पार्टीकातर्फबाट सरकार समक्ष पेश गरेका १९ बुँदे माग पुरा गर्नुपर्ने अध्यक्ष राईले बताए ।