• ट्रेण्डिङ:

 खोटाङ कांग्रेसका सभापति र सचिवलाई कारबाही गर्न सिफारिस

 खोटाङ कांग्रेसका सभापति र सचिवलाई कारबाही गर्न सिफारिस

रोदिक खबर

२९, आषाढ २०७९
  • 7.9K
    SHARES
  •  खोटाङ कांग्रेसका सभापति र सचिवलाई कारबाही गर्न सिफारिस

    खोटाङ । स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीलाई हराउन गतिविधि गरेको दावी सहित नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई र सचिव ज्ञानेन्द्र जोशीलाई कारबाहीका लागि अनुशासन समिति समक्ष सिफारिस गरिएको छ ।

    गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेद्वार उठाउन र पार्टीलाई हराउन प्रोत्साहन गरेको आरोप सहित सभापति राई र सचिव जोशीलाई अनुशासनको कारबाहीका लागि कांग्रेसका पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले मंगलबार नरेश श्रेष्ठ संयोजकत्वको अनुशासन समिति समक्ष सिफारिस गरेका हुन् ।

    पार्टी अनुशासन भन्दा बाहिर गएर टिकट वितरण गर्ने, सोही अनुसारको अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा लेख्ने, विपक्षी पार्टीलाई उक्साएर आफ्नो पार्टीको तेजोवध गर्ने, आर्थिक लेनदेन गर्ने, गठबन्धनका नाममा बैठक बसेर आफ्नो पार्टीको आन्तरिक मामिलामा छलफल नगर्ने, आफ्नो पार्टीले निर्वाचन एक्लै लड्नुपर्ने ठाँउमा ‘हार्ने र नयाँ शिराबाट संगठन निर्माण गर्ने’ जस्ता अभिव्यक्ति दिँदै पार्टीलाई हराउने गतिविधि गरेको दावी सहित कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापा, बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई, जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, केपिलासगढी गाउँपालिका सभापति होमबहादुर राई र ऐसेलुखर्क गाउँपालिका उपसभापति धनकाजी राई (सुरेन्द्र) जिल्ला सभापति र सचिवलाई कारबाहीका लागि अनुशासन समिति समक्ष सिफारिस गरेका हुन् ।

    स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन भूमीका खेलेको आरोप लगाउँदै सचिव जोशीले अनुशासन समिति संयोजकको हैसियतमा आइतबार प्रदेश १ का महामन्त्री भूपेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति गिरी सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेपछि पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले जवाफमा सभापति र सचिवलाई नै कारबाहीका लागि सिफारिस गरेका हुन् ।

    सभापति राई र सचिव जोशीलाई कारबाहीका लागि सिफारिस भएर आएको श्रेष्ठ संयोजकत्वको अनुशासन समितिका सदस्य रोजन राईले पुष्टी गरे । महामन्त्री राई र उनको समुहलाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएपछि पालिका सभापति र उपसभापतिले प्रत्यूत्तर दिएको बताएका छन् । कांग्रेसको आन्तरिक द्धन्द्धका क्रममा दुई वटा अनुशासन समिति अस्तित्वमा देखिएका छन् ।

    सभापति र सचिवलाई अनुशासन उल्लंघनको कारवाहीको लागि कांग्रेसको विद्यान संसोधन सहित २०१७ को परिच्छेद ९ धारा ३४ को उपधारा १ को (क), (ख), (ग), (ङ) र (च) अनुसार सिफारिस गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति गिरीले बताए ।

    सभापति राई विरुद्ध आरोपको चाङ
    कांग्रेस सभापति राई बिरुद्ध आफ्नो वडा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा अधिवेशनको ‘इगो’ साँध्न भाईलाई टिकट दिएर अन्य कार्यकर्तालाई तह लगाउने नियतले निर्वाचन हराउन सक्रिय भएको, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सिनियर, निर्वाचन जित्ने, सामाजिक र राजनीतिक रुपले समाजले रोजेको, खोजेको र चाहेको व्यक्तिलाई टिकट दिनुको सट्टा आर्थिक प्रलोभनमा क्षेत्रीय प्रतिनिधि समेत नरहेको व्यक्तिलाई टिकट दिएको तर निर्वाचन जिताउन नखटेको, देखावटी रुपमा उपस्थित मात्र भएको, कार्यकर्ता भड्काएको आरोप छ ।

    “आफ्नै पालिका दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विपक्षी दलसँग साँठगाँठ गरि वडा नम्बर–७ टेम्मामा खुला सदस्यमा एक जनालाई मात्र टिकट दिइयो, अर्को खाली राखियो, वडा नम्बर–४ बतासेमा दलित महिला सदस्यमा टिकट नदिइ खाली राखेका कारण दुवै वडामा निर्वाचन हराउन लागेको पुष्टि हुन्छ,” गिरीले भने, “समयमा उम्मेद्वारी दिएको भए निर्वाचन जित्ने अवस्था थियो । तर जिल्ला सभापतिले त्यस बारेमा ध्यान दिनु भएन ।”

    सभापति राईमाथि दिपु्रङ चुइचुम्मा गाउँपालिका उपाध्यक्षमा सपना राईलाई टिकट दिने निर्णय भएकोमा कीर्ते गरि रमा कट्वालको नाम सिफारिस गरेको, केपिलासगढी गाउँपालिका–४ मा गणेश अधिकारीलाई वडाध्यक्षको टिकटको निर्णय भएकोमा सुन्दर राईलाई टिकट दिएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा महिला सदस्य उर्मिला पोख्रेलको निर्णय भएकोमा अञ्जना केसीलाई टिकट दिएको, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सन्तोष खत्रीको नाम काटेर प्रकाश राईलाई टिकट दिएको आरोप लगाइएको छ ।

    पालिका सभापतिहरुले विचार पुर्‍याएर टिकट वितरण गर्न अनुरोध गर्दा ‘मेरो अधिकार हो भन्दै पार्टी एक्लै लडेका ठाउँमा सबैले चुनाव हार्छन् र फेरि नयाँ ढंगबाट संगठन निर्माण सुरु हुन्छ’ भन्ने अभिव्यक्ति दिएको, पालिका र वडाको सिफारिसलाई बेवास्ता गर्दै नातागोताभित्र टिकट वितरण गरेका कारण कतिपय ठाँउमा पार्टीको अधिकारिक उम्मेद्वारको जमानत जफत भएको सिफारिस पत्रमा उल्लेख छ ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको पालिकामा कांग्रेसले प्रमुख पाउने सहमती विपरित ऐसेलुखर्क गाउँपालिकामा माओवादी केन्द्रलाई अध्यक्ष दिएको, कांग्रेसका कार्यकर्तालाई आँखा फुट्नेगरी कुटपिट गर्ने उम्मेदवारलाई भोट दिन नसकिने बताउँदा उल्टै कारबाहीको धम्की दिएको, संसदीय समितिमा निर्णय नगरी कार्यपालिका र जिल्ला समन्वय समितिको टिकट आफन्तलाई वितरण गरेको, पूर्व जिल्ला कोषाध्यक्ष तथा वर्तमान जिल्ला कार्य समिति सदस्य जीवनकुमार राईलाई अन्य पार्टीमा जान बाध्य बनाएको आरोप लगाइएको छ ।

    सचिव जोशीमाथि यस्ता छन् आरोप
    सचिव जोशीमाथि आफैं स्वघोषित अनुशासन समितिको संयोजक बनेर कारवाहीको एकलौटी निर्णय गरि भ्रम फैलाएको, प्रदेश समितिले आर्थिक चलखेलमा टिकट वितरण गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको, पार्टीको निर्णय बिना नेता कार्यकर्ताको विरुद्ध विज्ञप्ति निकाल्ने, अनावश्यक हल्ला मच्याउने, पदलाई दुरुपयोग गरि व्यक्तिगत स्वार्थका काम गरेको आरोप छ ।

    जोशीलाई विपक्ष पार्टीका उम्मेद्वारहरुसँग साँठगाँठ गरेको, अरुलाई आर्थिक लेनदेनको आक्षेप लगाउदै आफैले लेनदेन गरेको, टिकट दिन संसदीय समितिले गरेको निर्णयमा कीर्ते गरेर आफ्ना मान्छेको नाम थपेको, बागी उठ्नलाई उक्साएको र आफु पनि ‘बागी उठ्छु’ भन्दै सामाजिक सञ्जालमा लेखेको आरोप छ ।

    प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०७:४८:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको