खोटाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता सन्तोष बुढामगर (बिशन)ले सरकारले आफ्नो पार्टीलाई जंगल धपाउन खोजिरहेको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टीले मंगलबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलमा सचिवालय सदस्य सदस्य बुढामगरले एमसीसीका बिरुद्ध कालो झण्डा देखाएकै निहुँमा महासचिव नेत्रबिक्रम चन्द विप्लवसहितका नेताहरू विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गर्दै जंगल धपाउने षडयन्त्र गरिरहेको बताएका हुन् । एमसीसीको विरोध गर्ने नेता बिरुद्ध पक्राउ पूर्जी जारी गर्दै सरकारले अमेरिकाप्रति भक्तिभाव देखाएको बुढामगरको दावी थियो ।
नेता बुढामगरले विप्लव लगायतका नेतामाथि पक्राउ पूर्जी जारी गरेर आसन्न संघ र प्रदेशको चुनावबाट समेत आफुहरुलाई बिमुख बनाउने षडयन्त्र भईरहेको दावी गरे ।
देशको सिमाना मिचिदा, देशलाई हस्तक्षेप हुँदा विरोध गर्ने, केवल हाम्रो पार्टी मात्रै देखियो,’ बुढामगरले भने, ‘हाम्रो पार्टीलाई पाखा लगाउन सकियो भने निर्वाध रुपले विदेशी शक्तिहरु आउन पाउने भए । हामीले अमेरिकाको विरोध गरेको सरकारले देखि सहेन । पक्राउ पूर्जी नै जारी गरे । यसको पछाडि ठूलो षडयन्त्र छ ।’ देश संकटको भूमरीमा रुमलिएको छ, महँगी चरमचुलीमा पुगेको छ तर त्यसको बारेमा कसैलाई चिन्ता छैन ।
पत्रकार सम्मेलमा केन्द्रीय सदस्य तथा खोटाङ, सोलुखुम्वु र भोजपुर इन्चार्ज चन्द्रबहादुर बुढाथोकी (शैलेश), खोटाङका जिल्ला सेक्रेटरी सञ्जीव मगरलगायतको उपस्थिति रहेको थियो ।