• ट्रेण्डिङ:

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

रोदिक खबर

१०, भाद्र २०७९
  • 5.6K
    SHARES
  • खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु

    नेपाली कांग्रेस खोटाङले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ ।

    नेपाली कांग्रेस खोटाङले वीपी स्मृति भवन दिक्तेलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि तारामान गुरुङले टोल–टोलसम्म पुग्ने गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको उद्घाटन गरेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए । विभिन्न तीन चरणमा जनताको साथमा कांग्रेस अभियान सञ्चालन हुनेछ ।

    सभापति राईका अनुसार अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोसम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा कांग्रेसको भूमिका र आगामी पाँच वर्षका लागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन् ।

    अभियानको मुख्य रुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । 

    यसैगरी जनताको घर आँगनमा पुग्ने, काँग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरूपको रूपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने उद्देश्य रहेको केन्द्रीय सदस्य गुरुङले बताए ।

    काँग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा काँग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा काँग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य छ ।

    केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि गुरुङको प्रमुख आतिथ्य तथा कांग्रेस खोटाङका सभापति राईको सभापतित्वमा भएको अभियानको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती बजिमय, नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस खोटाङका निवर्तमान सभापति तथा महाधिवेशन प्रतिनिधि नरेशकुमार श्रेष्ठ, पूर्व मन्त्री तथा कांग्रेस नेता सर्वधन राई, प्रतिनिधि सभा सदस्य एवम् महाधिवेशन प्रतिनिधि हिरा गुरुङ, संघीय महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश तथा पालिका सभापतिहरु, भातृ तथा शुभुच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

    हरेक स्थानीय तह, वडा र टोलमा कार्यक्रम

    गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मूलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने जनाइएको छ ।
    यसैगरी विधानबमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको भए अभियानका क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ । कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्ने छ ।

    टोल कार्यसमितिभित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँट यस बीचमा टुङ्गो गर्नुपर्नेछ । टोल कार्यसमितिको बैठक नियमित रूपले निश्चित समयमा बस्ने टुङ्गो गराई त्यसको सुरुवात गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनुपर्नेछ । टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसँगको समन्वयमा गाउँ नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।

    प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - १७:४२:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको