खोटाङ । । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनले खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै डा.महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको अवश्यकता रहेको औंल्याएका छन् ।

“ओली जी कुरा गर्नुहुन्छ काम गर्नुहुन्न । काम गर्ने नेतृत्वको आवश्यकता छ । यो गठबन्धनले काम गरेर देखाउँछ,” डा. महतले भने, “विकासको आकांक्षा, उन्नतीको आकांक्षा, युवाको रोजगारीको आकांक्षा पुरा हुनेछ ।”
अर्को एक प्रसङ्गमा उनले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरूलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेस गरे ।
करिब तीन मिनेट मात्र संबोधन गरेका महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको आरोप लगाएका छन् । उनले संविधानको रक्षा, स्थिरता र समृद्धिको साझा लक्ष्य लिएर दलहरुबीच गठबन्धन भएको बताए ।
उनले हलेसी, किरात सभ्यताको उद्गमथलो तुवाचुङ लगायत रहेको खोटाङको साँस्कृतिक, आर्थिक लगायतका पक्षको विकास गर्नु गठबन्धनको उद्धेश्य रहेको उल्लेख गरे । खोटाङमा बार्है महिना चल्ने सडक, गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्यका लागि दुविधा नराखी गठबन्धनलाई मत दिन डा. महतको आग्रह थियो ।