खोटाङ प्रदेशसभा (ख)मा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राई विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद दंगालभन्दा २ हजार १४० बढी मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बुधबार राती घोषित अन्तिम परिणाम अनुसार राईले १६ हजार ४९६ मत र दंगालले १४ हजार ३५६ मत पाएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षको जिम्मेवारी पुरा गरेका भुपेन्द्र राईले प्रदेश सभामा फड्को मारेका हुन् । गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड संक्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पु¥याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए ।
लिच्कीराम्चेको कालापानी सुनकोसीको पानी लिफ्टिङ योजना, खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलदेखि याम्खा जोड्ने सडक निर्माण, सोही सडक खण्डमा पर्ने साप्सु खोलामा पक्की पुल निर्माण लगायतका काम उनकै पहलमा भएको हो ।
उनले सदरमुकाम बसेर लेखा परीक्षण गर्ने महालेखाको टोलीलाई सम्वन्धित पालिकामै पुगेर लेखा परीक्षण गराउनेदेखि प्राविधिक मूल्यांकन अनुसार भुक्तानी दिने व्यवस्था गरेर विभिन्न योजनाबाट करोडौं रकम फिर्ता गराएका थिए ।
२०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाई उपसभापति बनेर राजनीतिक यात्रा सुरु गरेका राई हाल कांग्रेस प्रदेश १ का महामन्त्री एबं संघीय महाधिबेसन प्रतिनिधि छन् । उनको बिजयलाई कांग्रेसले जिल्लामा २३ वर्षपछिको जित भनेका छन् ।
जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।