खोटाङ सदरमुकाम दिक्तेलमा बाम लोकतान्त्रिक गठबन्धनले विजयी जुलुस निकालेको छ । प्रतिनिधिसभामा नेकपा माओवादीका रामकुमार राई (पासाङ) र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका भुपेन्द्र राईको जीतमा गठबन्धनले संयुक्त विजयी जुलुस निकालेको हो ।

खोटाङका एमालेका पराजित उम्मेदवारहरुले गठबन्धनका विजेतालाई बधाई दिएका छन् । एमालेका प्रतिनिधिसभाका उम्मेदवार बिशाल भट्टराई र प्रदेशसभा (ख) का रामप्रसाद दंगालले गठबन्धनबाट प्रतिनिधिसभामा बिजयी रामकुमार राई र प्रदेशसभा (ख) मा कांग्रेसबाट विजयी भूपेन्द्र राईलाई बधाई तथा शुभकामना दिएका हुन् ।
दिक्तेलबजारको हाटडाँडातर्फबाट गठबन्धनको विजय जुलुस त्रिबेणीचोक आइपुगेपछि भट्टराई र दंगालले रामकुमार र भूपेन्द्रलाई फूल माला लगाइदिएर अंकमाल गरेका थिए ।

दिक्तेलस्थित हाडडाँडाबाट सुरु भएको जुलुस पूरानो वेसक्याम–रत्नपार्क पुगेर भवनगैरा हुँदै पुनः त्रिवेणी चोकमा पुगेर कोणसभा गरेको गठबन्धनले जनाएको छ ।
कोण सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन समितिका संयोजक टंक राई, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती बजिमय, नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङ, नवनिर्वाचित प्रदेश सभा सदस्य भुपेन्द्र राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बवि चाम्लिङ, नेपाली कांग्रेस खोटाङका सहसचिव तथा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले सम्वोधन गरेको नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सभापति अमृत गिरीले जानकारी दिए ।
यस्तै, माओवादी केन्द्रका नेता एवं पूर्वसांसद टंक राईले एमालेबाट प्रदेशसभा (क) मा विजयी भएका पाँचकर्ण राईलाई बधाई दिएका छन् । त्रिबेणीचोकबाट बेसक्याम्पतर्फ जाँदै गरेको एमालेको विजय जुलुससँग भेट भएपछि पूर्वसांसद राईले पाँचकर्णलाई फूलको थुंगो दिएर बधाई दिएका हुन् ।

एमालेले दिउँसो र गठबन्धनले साँझमा दिक्तेलबजारमा विजय जुलुस निकालेको थियो । कतिपयले भने विजयपछि उत्तेजित जुलुस निकाल्नु अनुचित हुने टिप्पणी गर्नेगरेका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका भट्टराईलाई हराउँदै माओवादी केन्द्रका रामकुमार प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । यस्तै, प्रदेश (क) मा नेकपा एकीकृत समाजवादीका बीरबलकाजी राईलाई हराउँदै एमालेका पाँचकर्ण विजयी भएका हुन् । प्रदेश (ख)मा एमालेका रामप्रसादलाई हराउँदै कांग्रेसका भूपेन्द्र विजयी भएका हुन् ।