• ट्रेण्डिङ:

राष्ट्रियता नै खतरामा छ : रायमाझी

राष्ट्रियता नै खतरामा छ : रायमाझी

रोदिक खबर

१०, चैत्र २०७९
  • 2.3K
    SHARES
  • राष्ट्रियता नै खतरामा छ  :   रायमाझी

    खोटाङ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले देशको राष्ट्रियता खतरामा रहेको बताएका छन् । एमाले खोटाङले बिहिबार दिक्तेलमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै रायमाझीले एसपीपी (अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम), नागरिकता विधेयक लगायतका एजेण्डाहरुले राष्ट्रियता खतरामा परेको चर्चा गरेका छन् ।

    जव आफ्नै पार्टीभित्रबाट नेकपाको सरकार ढाल्ने काम भयो र कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा भो । त्यो देखि दुई वर्षको अवधिमा भए गरेका गतिविधि कहाली लाग्दो छ । डरलाग्दो चित्र देखा पर्दछ । देशको राजनीति अव कतातिर जान्छ भन्ने प्रश्न उठिरहेको छ, रायमाझीले भने, अहिले महंगी आकाशिएको छ । राष्ट्रियता खतरामा छ । एसपीपी, एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डाहरु देखिरहेका छौँ ।

    रायमाझीले नेतृत्वमा जोकर भएकाले देशले दुःख पाएको भन्दै सरकारको कटाक्ष गरेका छन् । एक प्रकारले भन्ने हो भने तासको जोकर लगायौं भने मान्छेको जोकर भयो भने देश खत्तम हुन्छ, रायमाझीले भने, तासको जोकरले बाजी हुन्छ तर मान्छे जोकर भइदियो भने देशले दुःख पाउँदोरहेछ । यो ज्यादै नै खतरनाक चिज हो ।

    सचिव रायमाझीले वर्तमान सरकार नयाँ बजेट ल्याउन सक्ने अवस्थामा नभएको टिप्पणी गरेका छन् । बजेट कटौती हुने अवस्था भए पनि सरकारमा जानका लागि मारामार चलिरहेको रायमाझीले बताए । देशको विकास, समृद्धिका विषयहरु ठप्प छन् । आजभन्दा दुई महिनाअघि पूँजीगत खर्च विकास खर्च करिब दुई खरब माइनस चलिरहेको छ ।

    आउँदो जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउँदैछ । बजेट ल्याउन नसक्ने स्थिति छ । धेरै बजेट कटौती हुनेवाला छन्, उनले भने, यस्तो हुँदाहुँदै पनि सरकारमा जानका लागि तानातान, मारामार, कुटाकुट छ । सरकारमा जानका लागि चरम अन्तरसंघर्ष संकट देखा परिरहेको छ । इमान्दरिता र नैतिकता भन्ने चिज खत्तम भइसकेको छ, जे पनि गर्ने ?

    कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मानविर राई, पर्शुराम अधिकारी, एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने लगायतले बोलेका थिए । जिल्लाको १० वटै स्थानीय तहमा सञ्चालन भइरहेको मिसन ग्रासरुट कार्यक्रम आगामी वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा समापन गरिने एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०९:३६:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको