काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जानेछ ।
श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए ।
उनले अगाडि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए ।
सार्वजनिक भएको अडियो सम्वादमा सांसद श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिमले पैसा मागेको भनेका थिए । श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले बार्गेनिङमा उत्रिएको आरोप समेत सभापति रविले लगाए । ‘कोर टिम नै मैले बुझेको छैन, पार्टी स्थापनाको कोर टिम भनेको हो कि मेरो सचिवालय भनेको हो कि ? त्यो स्पष्ट छैन’, उनले भने । श्रेष्ठले कोर टिम सार्वजनिक गरे के हुन्छ भन्ने प्रश्नमा रविले तथ्यसहित आए कारबाही गर्ने बताए ।
‘उहाँले नाम लिनेवित्तिकै कारबाही गर्नुपर्छ भन्ने भएन । किनकी उहाँ एक लेभलले बार्गेनिङको तहमा आउनुभएको छ’, उनले भने, ‘म सकिएँ भने पार्टीलाई पनि छोड्दिनँ, जसलाई भनेपनि हुन्छ भन्नुभएको छ ।’ यो प्रकरणमा आफूहरु धन्यवादको पात्र भएको, तर उनले नदेखेको, नभनेको कोर टिमको खोजी हुनसक्ने भन्दै उनले असन्तुष्टि जनाए ।
पुराना दलहरुमा पनि यस्तो विवाद आएको, तर कारबाही नभएको स्मरण गरेका उनले अघि भने, ‘यति छिटो हामीले कारबाही गरेका छौं, यसको त तारिफ गर्नुपर्ने हो कि ?’ ढाकाकुमार श्रेष्ठबारे पहिले पनि प्रश्न उठेको थियो, त्यसबेला किन कारबाही भएन भन्ने प्रश्नमा रास्वपा सभापति रविले विवाद आउनेवित्तिकै कारबाही गर्ने भन्ने नहुने बताए । उनले अघि भने, यो पटक डाइरेक्ट अडियो नै आयो ।’