राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । रबि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको भानुचोक, बरगाछीमा रास्वपाले शुक्रबार सम्पर्क कार्यालय स्थापना गरेको हो । हालका लागि मुकुन्दकृष्ण थापा, पारस बिराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्ति तोकेर सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मञ्जु बिष्टले जानकारी दिएकी छन् ।
तीन जना सम्पर्क व्यक्तिलाई पार्टीको बारेमा जान्न चाहने व्यक्तिलाई आवश्यक जानकारी दिने र सदस्य बन्न इच्छुक व्यक्तिलाई सदस्यता वितरण गर्न सहजीकरण गर्ने जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । रास्वपाले डा. राजकुमार राई, बागमती प्रदेश सदस्य गणेश बस्नेत लगायतको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।
सदस्य साथीहरुको संख्या वृद्धिसँगै केन्द्रका नेताहरुको उपस्थितिमा निकट भविष्यमा जिल्ला कार्य समिति गठन हुनेछ, बिष्टले भनिन्, तत्पश्चात जिल्ला कार्य समितिले गाउँ तथा नगरपालिका र वडा तहमा संगठन विस्तार गरिने छ । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका कतिपय नेता समेत रास्वपामा प्रवेश गर्नेगरी नियमित सम्पर्क र छलफलमा रहेको प्रदेश सदस्य बिष्टले जानकारी दिएकी छन् ।
जान्नेलाई छान्ने अर्थात राजनैतिक बिरासत भन्दा पनि पार्टीमा क्षमता र विज्ञताको आधारमा नेताले स्थान पाउने रास्वपाले जनाएको छ । रास्वपाको संगठन विस्तारलाई अन्य दलले चासोकासाथ हेरेका छन् । हाल जिल्लाबाट पनि सदस्यताका लागि अनलाईन आवेदन परिरहेको छ तर कति जनाको आवेदन पर्यो भन्ने कुरा केन्द्रमा बुझ्न बाँकी छ, सम्पर्क व्यक्ति पारस बिराटले भने, धेरै अग्रज नेताहरु रास्वपामा आउन चाहनुहुन्छ तर बिरासतले अलि असहज भइरहेको छ । फेरी हाम्रो नारा नै जान्नेलाई छान्ने छ ।
नेपाली जनताको जनभावना अनुसार परिवर्तनकारी आकांक्षा पुरा गर्न पुराना दलहरु पूर्णरुपमा असफल भएको सन्दर्भमा रास्वपाको उपस्थितिलाई सान्दर्भिक, जनभावना अनुकुल बनाउन मुलुकको हरेक कुना कुनामा आफ्नो संगठन विस्तारलाई मुर्त रुप दिने सिलसिलामा जिल्लामा संगठन विस्तार सुरु गरिएको विज्ञाप्तीमा उल्लेख छ ।