खोटाङ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल खोटाङको अध्यक्षको जिम्मेवारी काजीमान राईले पाएका छन्। तरुण दल जिल्ला कार्य समितिमा लामो समय उपाध्यक्षको भूमिकामा रहेका राईलाई शनिबार एक कार्यक्रमकाबिच कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
जननायक बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा विपी स्मृति भवन दिक्तेलमा आयोजित सरसफाई तथा वृक्षारोपण कार्यक्रममा नेपालतरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण राईले काजीमान राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका छन् ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दल केन्द्रीय तदर्थ कार्य समितिमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष भिषण राईलाई असार १३ गते केन्द्रीय सदस्यमा मनोनित गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका काजीमानले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
तरुण दल केन्द्रीय तदर्थ कार्य समितिमा भीषणसहित, दिनेश राई, रोजन राई, जयकुमार तामाङ, सञ्जय कुमार राई र सचिन्द्र सिंह ठकुरी मनोनित भएका थिए ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका काजीमानलाई कांग्रेस खोटाङका उपसभापति इवन राई, सचिव समिर राई, महाधिवेशन प्रतिनिधि सुमनबावु आचार्य, शहरमान राई, डिल्लीकुमारी आचार्य, कांग्रेस जिल्ला सदस्य नवराज राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
कांग्रेसका उपसभापति इवन राईको प्रमुख आतिथ्यतामा र तरुण दलका अध्यक्ष भीषण राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश खेलकुद संघको प्रदेश समिति सदस्यमा मनोनित भएका केपिलासगढी गाउँपालिकाका मिलन राई (जोजो) लाई समेत कार्यक्रममा बधाई ज्ञापन तथा मनोनितको पत्र हस्तान्तरण गरिएको छ ।
यस्तै, नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्मलीडाँडाका दिवासन राईले पाएका छन् । नगर समिति अध्यक्ष सुचन राईले दिवासनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।