उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन्। नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताए।
उपप्रधानमन्त्री खड्काले भने, ‘निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ। साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवाहरु झण्झटरहित रुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्नेछ।’ अहिलेको सरकार र सत्तारुढ गठवन्धन निजामती कर्मचारीहरु हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको समेत प्रष्ट पारे। उनले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राखे।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे। खड्काले भने, ‘यतिबेला देशको अर्थतन्त्रको अवस्थाबारे तपाईं जानकारनै हुनुहुन्छ, अर्थतन्त्रमा धेरै भार नपर्ने र निजामती कर्मचारीको हित हुने कैयन विषय ऐनमा समेटिएका पनि छन्। तर अर्थतन्त्रमा भार पर्ने विषय पछि बिस्तारै सम्बोधन गर्नुपर्ने अवस्था छ।’ उनले कर्मचारीलाई सम्बोधन गर्दै अहिले त्याग गर्ने बेला भएको भन्दै अर्थतन्त्र सुधार भएसँगै सबै समस्या सम्बोधन हुने समेत बताए।