खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । रगत, दिसापिसाव तथा खकार परिक्षणबाट पत्ता लाग्ने रोगको पहिचान गरेर निदानका लागि खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो ।
ल्याव टेष्ट गरेर सामान्य किसिमका स्वास्थ्य समस्या पत्ता लगाउनका लागि समय र पैसा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरिएको १२ लाखमा दुई स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले वताए ।
अन्दाज र अनुमानका भरमा औषधि वितरण गर्नुपर्ने वा ल्याव टेष्टका लागि अन्यत्र जानु पर्ने वाध्यता अन्त्यका लागि गाउँपालिकाले आवश्यक उपकरण र जनशक्ती व्यवस्था गरेर स्वास्थ्य प्रयोगशाला स्थापना गरेको हो । खोटाङबजार र इन्द्रेणीपोखरीमा स्थापना गरिएको स्वास्थ्य प्रयोगशाला बुधबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण ढिलागरी स्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी, खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका स्थानीय लाभान्वित हुनेगरी खोटाङबजारमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो ।
यस्तै, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–८ सिमपानी र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै इन्द्रेणीपोखरीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको गाउँपालिका अध्यक्ष राईले वताए ।
इन्द्रेणीपोखरीमा स्वास्थ्य प्रयोगशाला स्थापनाका लागि स्थानीय भुपराज राईले समेत उपकरण खरिदमा सहयोग गरेको गाउँपालिकाले जनाएको छ । दुई जना ल्याव असिस्टेण्ट नियुक्ती गरेपछि दुई स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो ।
रगत, दिसापिसाव र खकार परिक्षणका माध्यमबाट रोगको पहिचान गर्न र रोग निदानका लागि स्वास्थ्य प्रयोगशाला फलदायी हुने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले वताए । स्वास्थ्य प्रयोगशालाका माध्यमबाट यूरिक एसिड, सुगर, क्षयरोग लगायतका स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने जनाइएको छ ।
‘स्वास्थ्य प्रयोगशालाका माध्यमबाट बिरामीको स्वास्थ्य समस्या पत्ता लगाउन सकिन्छ र निदान गर्न सकिन्छ,’ स्वास्थ्य शाखा प्रमुख बस्नेतले भने, ‘स्वास्थ्यचौकीमै निदान गर्न सकिने समस्या भए स्वास्थ्यचौकीमै निदान गर्न सकिन्छ, नसकिने रहेछ भने अन्यत्र रेफर गर्न सकिन्छ ।’