• ट्रेण्डिङ:

कांग्रेसमा उजुरीको पोको खोलियो, अनुशासन समितिले सोध्न थाल्यो स्पष्टीकरण

कांग्रेसमा उजुरीको पोको खोलियो, अनुशासन समितिले सोध्न थाल्यो स्पष्टीकरण

रोदिक खबर

१९, भाद्र २०८०
  • 7.7K
    SHARES
  • कांग्रेसमा उजुरीको पोको खोलियो, अनुशासन समितिले सोध्न थाल्यो स्पष्टीकरण

     काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३ सय उजुरी परेको छ ।

    अनुशासन समितिले कार्यविधि नै बनाएर उक्त उजुरीमाथि ‘फास्टट्र्याक’ कारबाही अगाडि बढाउने निर्वाचन समितिका संयोजक आनन्द ढुंगानाले बताए । भदौ ५ मा अनुशासन समितिले पूर्णता पाएपछि १५–२० जिल्लाको उजुरी हेरेर भ्याएको उनको भनाइ छ ।

    गत वर्ष साउनमा ढुंगानाको नेतृत्वमा बनेको अनुशासन समिति सदस्यमा ५ भदौमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला मनोनीत भएका थिए । पूर्णता पाएपछि अनुशासन समितिले ११ भदौमा कार्यविधि बनाएको थियो ।कार्यविधिमा व्यक्तिगत रूपमा परेका उजुरी र पार्टीका निकायबाट कारबाही सिफारिस भएका उजुरी छानबिनको प्रक्रिया, निर्णयको मापदण्ड र पुनरावेदनको प्रक्रिया समान रहने व्यवस्था छ ।

    समितिले १२ भदौबाट उजुरी खोलेको संयोजक ढुंगानाले बताए । ‘उजुरी हेरेर स–साना नोटहरु गरेका छौं । त्यसलाई अन्तिम निर्णय गर्न बाँकी छ । खोटाङमा स्पष्टीकरण सोधिएको छ । अरु ठाउँको हेर्दै छौं,’ उनले भने, ‘कसैले इर्स्या पनि उजुरी दिएको होलान् । हामीले बुझ्नु पनि पर्छ । हामीले जिल्ला सभापतिसँग पनि बुझेका छौं । अन्य साथीहरुसँग पनि बुझेका छौं ।’ सत्य र तथ्यका आधारमा मात्र समितिले कारबाही अगाडि बनाउने संयोजक ढुंगानाको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १७:०५:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको