बिहिवार, कार्तिक १३ गते २०८३

समाजवादी मोर्चा खोटाङको संयोजकमा जलशेर राई

समाजवादी मोर्चा खोटाङको संयोजकमा जलशेर राई

रोदिक खबर

२२, भाद्र २०८०
  • 12.3K
    SHARES
  • समाजवादी मोर्चा खोटाङको संयोजकमा जलशेर राई

    खोटाङ । समाजवादी मोर्चा खोटाङको संयोजकको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीले पाएको छ । हरेक छ÷छ महिनामा नेतृत्व परिवर्तन गर्नेगरी नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राई समाजवादी मोर्चाको जिल्ला संयोजक बनेका हुन् ।

    समाजवादी मोर्चामा आवद्ध दलहरुको दिक्तेलमा बसेको पहिलो बैठकले यही भदौ–२५ गते बिराटनगरमा हुने मोर्चाको कार्यक्रमलाई सफल बनाउन लागिपर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलासुस्ती बिरुद्ध आवाज उठाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

    अर्को बैठकमा बृहत र घनिभूत छलफल गर्ने निर्णयसमेत गरिएको समाजवादी मोर्चामा आवद्ध नेपाल कम्युनिष्ट पार्टी खोटाङका इन्चार्ज सञ्जिव मगरले जानकारी दिए। समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

    नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार–४ गते समाजवादी मोर्चा घोषणा गरिएको हो ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको जनाइएको छ ।

    मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरीबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने उल्लेख छ ।

    त्यस्तै, मोर्चाले वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यावसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना (प्रविधि) भौतिक पूर्वाधार, यातायात लगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने योजना तय गरेको छ ।

    अवधारणापत्रमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका छन् ।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - २०:०८:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको