खोटाङ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश विकासको लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताएका छन् ।
खोटाङको दिक्तेलमा शनिवार भएको मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री लिम्बूले अहिले नेपालको राजनीतिमा अस्थिरता पैदा गर्ने काम भइरहेकोले देशको विकास र समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्। नेपालको राजनीतिलाई ठिक ठाँउमा ल्याउनका लागि युवालगायत सबै क्षेत्रबाट सशक्त आवाज उठाउनु पर्ने पनि मन्त्री लिम्बुले बताए ।
अहिलेको सरकार सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका निमित्त भ्रष्टाचारमुक्त प्रशासन बनाउन कठिबद्द भएर अघि बढेको भएपनि कहि जातीय दंगाको नाममा त कहिँ धार्मिक कुरा गरेर मुलुकमा अशान्ति पैदा गर्ने कामहरु शुरू भएकोले सबै जातजाति, भाषा, धर्म, संस्कृतिका मानिसहरू जसरी हामी मिलेर बसेका थियौ त्यसरी नै मिलेर बस्ने वातावरण बनाउन अभियान चलाउनुपर्ने आवश्यक रहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले अन्तर्राष्ट्रिय क्षेत्रमा भएको सीप र कलालाई नेपालमा भित्र्याउन सफल भएको बताउदै मन्त्री लिम्बूले पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बताए ।
पछिल्लो समय सामाजिक सन्जालमा जथाभावी गाली गर्ने हिलो छ्याप्ने, जे पायो त्यही गाली गलोज गर्ने काम भइ रहेकोले त्यसता सामाजिक सन्जालमा लेख्दै गर्दा सकारात्मक विचार, दृष्टिकोण र महत्त्वपूर्ण सुझावहरु राखेर नेपाली जनतालाई डोर्याउन आग्रह गरे ।
सामाजिक सन्जालमा बिगार्नका लागि लेख्ने होइन सुधार्न लागि लेख्ने हो ।सप्रियोस भनेर लेख्ने हो । तर लेख्दै जादा आरोप प्रतिआरोप गर्दै अघि बढ्यो भने त्यसले अशान्ति कायम हुनसक्छ । अशान्ति कायम भयो भने हामी अगाडि बढ्न सक्तैनौ । झैझगडा हुन सक्छ त्यसैले सकारात्मक विचारका साथ अघि बढ्न सबैलाई आग्रह गरे ।