• ट्रेण्डिङ:

कांग्रेस महासमितिको बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म गोदावरीमा हुने

कांग्रेस महासमितिको बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म गोदावरीमा हुने

रोदिक खबर

१९, कार्तिक २०८०
  • 5.2K
    SHARES
  • कांग्रेस महासमितिको बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म गोदावरीमा हुने

     काठमाडौं। नेपाली कांग्रेसको महासमितिको बैठक मङ्सिर २९ गतेबाट सुरु हुने भएको छ । बैठक अब मङ्सिरको २९, ३० र पुसको १ र २ गते गोदावरीमा हुने भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

    महासमिति बैठक अब मङ्सिर २९, ३० र पुस १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस नेता मीनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको बताए। यसअघि काँग्रेस महासमिति बैठक मङ्सिर १५ देखि गर्ने निर्णय भएको थियो ।

    यस्तै, कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै, अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रीय सदस्य जिप छिरिङ लामाले ११ लाख र पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख दिने प्रतिबद्धता गरेको काँग्रेस नेता विश्वकर्माले बताए ।

    विपतको व्यवस्थापनको जिम्मा महामन्त्रीद्वयलाई

    अन्य सहयोगका लागि पार्टीका सदस्यहरूलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताए । प्रभावितहरूमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरू गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि काँग्रेस नेता विश्वकर्माले बताए ।

    नेता मीनबहादुर विश्वकर्माले भने, ‘‘जाजरकोट र रुकुमपश्चिममा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट धेरैको ज्यान गएको छ । सयौँ मानिसहरू घरबार विहीन भएका छन् । त्यस्तो अवस्थालाई नेपाली काँग्रेसले गम्भीर र दुःखद घटनाको रूपमा लिएको छ । यो घटनालाई आधार बनाएर बैठक बसेको हो ।’’ बैठकले भूकम्पबाट प्रभावितलाई तत्कालै उद्धार गर्नका लागि राहत, पुनः स्थापनाका लागि गम्भीर रूपमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    तत्कालै राहत सामग्री उपलब्ध गराउनका लागि, उनीहरूको स्वास्थ्योपचारमा प्रभावकारिता ल्याउनका लागि पार्टीको तर्फबाट पार्टी सदस्यहरूबाट जम्मा गरेको रकमबाट कोषबाट ५० लाख दिने निर्णय गरिसकेका छौँ । कार्य सम्पादन समितिले त्यसलाई अनुमोदन गरेको छ ।

    यो रकम पर्याप्त होइन त्यसैले अझै थप रकम त्यहाँ पुर्‍याउनका लागि र बजेट पुर्‍याउनका लागि पार्टीले पार्टी सङ्गठन भित्रका सम्पूर्ण पदाधिकारी, सदस्यहरू, जनप्रतिनिधिहरूलाई पार्टीको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि हार्दिक अपिल गर्ने निर्णय गरेको छ । सोही आधार मानेर पार्टीका केन्द्रीय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपियाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १५:०४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको