पहिचान पक्षधरद्धारा मंसिर २६ गतेदेखि घुर्मी–लेगुवाघाट अनिश्चितकालिन बन्दको घोषणा नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरिरहेका बेला प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङले मंसिर २६ गतेदेखि अनिश्चितकालिन घुर्मी–लेगुवाघाट सडक बन्दको आव्हान गरेको छ ।
एमाले केन्द्रीय कमिटिले पश्चिम नेपालबाट सुरु गरेको मध्यपहाडी राजमार्ग लक्षित समृद्धिका लागि संकल्प यात्राको प्रतिरोधका रुपमा पुःन नामांकन संयुक्त संघर्ष समितिले शुक्रबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै मध्यपहाडी राजमार्गको घुर्मीदेखि धनकुटाको लेगुवासम्मको खण्ड अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका हुन् ।
पहिचान विरोधी अभिव्यक्ति दिने, पहिचानको आन्दोलनलाई खिसीटिउरी गर्ने र पहिचान पक्षधरको आत्मसम्मानमा चोट पु¥याउने व्यक्तिहरुलाई जिल्ला प्रवेशमा निषेध गर्ने कार्यक्रम अनुसार अनिश्चितकालिन घुर्मी–लेगुवाघाट सडक बन्द आव्हान गरिएको प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए ।
संयुक्त संघर्ष समितिले मंसिर २५ गते मध्यपहाडी राजमार्गको हलेसी, नुनथला, दिक्तेल लगायतका स्थानमा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम सहितको बिरोध सभा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कोसी प्रदेश नामाकरण गर्ने ८२ सांसद र पहिचानको आन्दोलन विरुद्ध अभिव्यक्ति दिने नेतालाई जिल्ला प्रवेशमा निषेध गर्नेदेखि कोसी लेखिएको बोर्ड मेटाउने लगायतका विरोधका कार्यक्रम भइरहेको अवस्थामा समृद्धिका लागि संकल्प यात्राको नाममा एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत आउन लागेकाले बन्द आव्हान गरिएको पूर्वसंस्कृति मन्त्री गोपाल किरातीले बताए ।
घुर्मीदेखि धनकुटाको लेगुवासम्मको बन्दको नेतृत्व भीम राई र लुगेवादेखि चिवाभञ्ज्याङसम्मको बन्दको नेतृत्व बिराज आङदेम्बे गर्ने छन् । नेपालको संविधानको मर्म र जनभावना विपरित षडयन्त्रपूर्वक र जवरजस्त ढंगले पहिचानलाई लत्याएर पञ्चायती शैलीमा कोसी प्रदेशको नाम पास गरी आन्दोलनको बिजारोपण गरियो, संघर्ष समितिका संयोजक किरातले भने, त्यसैको परिणाम अहिले पहिचान पक्षधर संघसंगठन, राजनैतिक दल, नागरिक समाज र अगुवा व्यक्ति संयुक्त रुपमा चरणवद्ध आन्दोलनमा होमिनु परेको छ ।
यो आन्दोलन सदभाव सहित सहअस्तित्व निर्माण गर्ने र स्थापित सभ्यताको सम्मानका लागि हो । देशमा भएका सबैखाले विभेदको अन्त्य गरी स्थायी शान्ति स्थापनाका लागि हो । पत्रकार सम्मेलनमा उपस्थित जनता समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले मध्यपहाडी बन्द एमाले लक्षित नभै पहिचानको बिरुद्धमा बोल्ने पहिचान बिरोधी विरुद्ध भएको जानकारी दिए ।
यस्तै, पुःन नामांकन संयुक्त संघर्ष समितिले एमालेको समृद्धिका लागि संकल्प यात्राको प्रतिरोधी कार्यक्रमका रुपमा अनिश्चितकालिन बन्दको घोषणा गरेको नेकपा एकीकृत समाजवादी तेह्रथुमका अध्यक्ष कृष्ण चोङबाङले बताए । पत्रकार सम्मेलनमा पूर्वमन्त्री किरातीले एमाले अध्यक्ष ओली बिरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए ।