संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा उम्मेदवारी : सिटौला

संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा उम्मेदवारी : सिटौला

रोदिक खबर

३, माघ २०८०
  • 7.4K
    SHARES
  • संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सभामा उम्मेदवारी : सिटौला

    खोटाङ । नेपाली कांग्रेसका बरिष्ठ नेता एवम् वर्तमान सत्ता गठबन्धनबाट कोशी प्रदेशका राष्ट्रिय सभाका साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले जनता र राष्ट्रको पक्षमा संघीय संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् ।

    खोटाङको दिक्तेलमा बुधवार पालिकाका प्रमुख तथा उपप्रमुखसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले विगतमा भएको १२ बुँदे समझदारी अनुरुप शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

    उनले संघीयताको मूलमर्म र भावना अनुरुप केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले एकएक कार्यकाल पूरा गरेको भएपनि संघीयतामा बन्नुपर्ने आवश्यक कानुनहरु बन्न नसक्दा जनताको चाहना अनुरुप देशमा सुशासन कायम हुन अझै नसकेको बताए ।

    संसदमा सरकार गठन हुने अन्तिम विकल्प भएसम्म संसद विघटन हुन सक्ने संविधानको मूल मर्म विपरित दुई पटकसम्म संसद विघटन गरेर नेकपा एमालेका तत्कालिन प्रधानमन्त्री केपी ओलीको अकर्मण्यताका कारण यो अहिलेको गठबन्धनको जन्म भएको हो, उनले भने संविधानको रक्षा गरी पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न १२ बुँदे समझदारी हुँदाका बखत रहेका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव अहिले पनि एकै मोर्चामा भएको उल्लेख गरे ।

    नेता सिटौलाले संघीयतामा जति वटा कानुनहरु बनेर अधिकारको बाँडफाड हुनुपर्ने हो त्यो हुन नसक्दा शिक्षा, स्वास्थ्य, प्रहरी प्रशासन अहिले पनि संघकै मातहतमा रहिरहनु राम्रो नभएको बताए ।

    आगामी माघ ११ गते हुने तय भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोसी प्रदेशबाट उम्मेदवार बनेका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गरेको बताए ।

    शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न र संविधान बमोजिम अधिकारहरुको प्रत्यायोजन गर्न आफू राष्ट्रिय सभाको उमेदवार बनेको स्पष्ट पार्दै नेता सिटौलाले गठबन्धनको आफ्नो भोट सुरक्षित गर्न र पालिका प्रमुख तथा उपप्रमुखहरुसँगको परिचय गर्ने उद्देश्यले आफू यहाँ आएको बताए ।

    सो कार्यक्रममा उनीसँगै आएकी अर्का उम्मेदवार नेकपा माओवादीका चम्पा कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी थिइन् । उनले प्राप्त उपलब्धिको रक्षाका लागि राष्ट्रिय सभामा उम्मेदवारी दिएको पनि बताइन् ।

    नेता सिटौलासँगै राष्ट्रिय सभाकी उम्मेदवार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन काफ्ले, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे लगायतको टोली खोटाङ आएको थियो ।

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १८:३२:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको