काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ समेत गरी ४४६ जना महिला र १ हजार १३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यो कुल संक्रमितको ७१।५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ६४० जना र संस्थागत आईसोलेसनमा ८ हजार १३९ जना छन् । ति मध्ये १७४ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार २५० जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, मकवानपुर, भक्तपुर, चितवन, र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३७१ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।