• ट्रेण्डिङ:

कार्यकर्ताले अग्रज नेताको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य

कार्यकर्ताले अग्रज नेताको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य

रोदिक खबर

२८, चैत्र २०८०
  • 8.2K
    SHARES
  • कार्यकर्ताले अग्रज नेताको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य

    खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने बताएकी छन् । एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ताहरु प्रेरित हुँदै देश र जनताको हितमा लाग्नुपर्ने बताएकी हुन् ।

    1-1536x968.jpeg

    बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहेकी नेतृ शाक्यले जनतालाई ‘माक्सवाद, लेनिनवाद र बहुदलीय जनवाद’का बारेमा नेता तथा कार्यकर्ताहरुले जानकारी दिनुपर्ने बताइन् । “कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठले प्रतिपादन गर्नुभएको ‘माक्सवाद, लेनिनवाद र बहुदलीय जनवाद’का बारेमा हामी नेताहरुले कार्यकर्तालाई समेत बुझाउन सकेका छैनौँ ।

    यसले कम्युनिष्ट पार्टीमा गुटउपगुट जन्मिएको छ”, उनले भनिन्, “नेपालका कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएमात्र देश विकास हुन्छ । यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुन आवश्यक छ ।” नेतृ शाक्यले अग्रज नेताहरुको त्याग, तपस्या र योगदानले देशमा आमूल परिवर्तन आएको बताइन् ।

    cpn4.webp

    “देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । यसमा नेताहरुले ठूलो त्याग र बलिदान गरेका छन्”, उनले भनिन्, “निरङ्कुश राजतन्त्रलाई फालेर गणतन्त्रण स्थापना गर्नु आफैमा चुनौतिपूर्ण अवस्था थियो । अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानमा संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा ल्याइएको हो । यसलाई सम्मान गर्नुपर्छ ।”

    उद्घाटन कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानी मन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम औपचारिक रुपमा सकिए लगत्तै बन्दसत्र शुरु भएको एमालेले जनाएको छ । एमाले खोटाङका कार्यकर्ता र शीर्ष नेताले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् ।

    cpn3.webp

    अधिवेशनमा जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राईको प्रतिस्पर्दा हुने देखिएको छ । उनीहरु दुवै जनाले एकले अर्कोलाई नस्वीकार्दा चुनावी माहोल बनेको स्रोतको दावी छ ।

    उपाध्यक्षका लागि वर्तमान पार्टी सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको दावी छ । सचिवमा अहिलेसम्म वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको एकल दावी देखिएको छ भने, अन्य पदाधिकारीमा दुवै पक्षले उम्मेदवारको नाम टुङ्ग्याएका छैनन् ।

    उद्घाटनसत्र समापन भएसँगै आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहका नेता तथा कार्यकर्ताबीच प्रतिनिधि तानातानको कसरत चलिरहेको छ । अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

    एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनका कारण दिक्तेल बजारमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । चैत–२९ गतेसम्म सञ्चालन हुने जिल्ला अधिवेशनमा ५७९ जना प्रतिनिधि सहभागी रहेको एमाले स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - २२:१४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको