नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । चैत्र ३० मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष देवविक्रम राई लगायतले आइतवार पदभार ग्रहण गरेका हुन् ।
दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष राई, उपाध्यक्ष कुमार आचार्य र सचिव सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् । एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य उषाकला राई, निवर्तमान अध्यक्ष रामप्रसाद दंगालले पदभार ग्रहण गराएका थिए ।
उपसचिवद्धय राजन बञ्जरा कार्य व्यस्तताका कारण र कविता राई बुवाको निधन भएका कारणले पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।
यस्तै, पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री उषाकला राईले एमाले खोटाङमा भएको निर्वाचनले नेता तथा कार्यकर्तामा नयाँ उर्जा थपेको प्रतिक्रिया दिइन् । “एमाले खोटाङले लोकतान्त्रिक पद्धति अपनाएको छ, यसले नेता तथा कार्यकर्तामा नयाँ उर्जा थपेको छ”, उनले भनिन् “नयाँ कार्यसमितिका कम्रेडहरुले पुराना नेताहरुको अनुभवलाई आत्मसाथ गर्न सक्नुपर्छ । नयाँ र पुराना नेताहरुको एकताले मात्र पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन सकिन्छ ।”

नेकपा एमाले खोटाङका नवनिर्वाचित अध्यक्ष राईले सिङ्गो पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । एमाले खोटाङको आठौँ जिल्ला अधिवशेनबाट अध्यक्षमा निर्वाचित राईले पदभार ग्रहणपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचनमार्फत सम्पन्न गरिएको अधिवेशनलाई कसैको जित या हारको रुपमा नभइ निर्वाचन पार्टीको एउटा प्रक्रियामात्र भएको बताएका छन्।
नवनिर्वाचित अध्यक्ष राईले एमाले खोटाङमा गरिएको निर्वाचनले पार्टीमा स्वस्थ प्रतिस्पर्धा, एकता र सद्भावको सन्देशलाई प्रवाह गरेको बताए। खोटाङको इतिहासमा पहिलो पटक निर्वाचनबाट चुनिएको जिल्ला कार्यसमितिले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगालले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निर्वाचनपछि बिगतका सबै कुरा भुलेर मिशन–८४ मा लाग्नुको विकल्प नरहेको प्रतिक्रिया दिए । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित र निवर्तमान जिल्ला कार्यसमितिका पदाधिकारीबीच शुभकामना आदानप्रदानसमेत भएको थियो ।
गत चैत–३० गते राति दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्न आयोजित आठौँ जिल्ला अधिवेशनमा सचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन भएको थियो ।
पदाधिकारी बाहेक अधिकांश जिल्ला कार्यसमिति सदस्य निर्विरोध चयन गरेको अधिवेशनले सात सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समिति संयोजकमा उमेश पौडेल सर्वसहमतिमा चयन भएपनि उपाध्यक्षमा निर्वाचन भएको थियो । दुईजना प्रतिस्पर्धीबीच भएको लेखा समिति उपाध्यक्षको निर्वाचनमा निर्मला थापा (आचार्य) विजयी भइन् । सचिवमा जोसेफ रिजाल चयन भए ।