कोशी प्रदेशको सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई ‘पिके’ नियुक्त

कोशी प्रदेशको सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई ‘पिके’ नियुक्त

रोदिक खबर

४, जेठ २०८१
  • 3.8K
    SHARES
  • कोशी प्रदेशको सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई ‘पिके’ नियुक्त

    खोटाङ । खोटाङ प्रदेशसभा (क) का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा पिकेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी परेको हो ।

    प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री पिके लगायतले शुक्रबार नै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विजयी पिके यसअघि पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए।

    सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पिकेले गत भदौ–२२ गते पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

    कार्की नेतृत्वमा विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्कीले पाएका छन् ।

    पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरलाई दिइएको छ भने, उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैले राखेको जनाइएको छ । राज्यमन्त्रीमा सिर्जना राई र वन्दना झाँगडलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।

    राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको प्रदेश सरकार दश सदस्यीय पुगेको छ ।

    सङ्घीय सरकारमा गठबन्धन फेरिएसँगै कार्की तेस्रो पटक गत वैशाख–२७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। आफू मुख्यमन्त्री नियुक्त भएको नौँ दिनपछि कार्कीले दोस्रो पटक शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १९:३४:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको