खोटाङ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङले जनताले सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले शनिबार दिक्तेलमा आयोजना गरेको ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै खापुङले प्राप्त अधिकारहरु कार्यान्वयन गर्दै जनताले प्रत्यक्षरुपमा सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिधिले काम गर्नुपर्ने बताएका हुन ।
प्रदेश प्रमुख खापुङले जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । “मूलुकको विकासका लागि स्थानीय श्रोत तथा साधनलाई भरपुर सदुपयोग गनुपर्छ । स्थानीय श्रोत तथा साधनको सदुपयोग नभएसम्म विकास सम्भव छैन”, उनले भने, “स्थानीय श्रोत तथा साधन सदुपयोग गर्न सङ्घीयता सुदृढ ढङ्गले कार्यान्वयन गर्नुपर्छ ।
सङ्घीयता कार्यान्वयन भएपछि मात्र जनताले खान, बस्न र रोजगारी लगायतका आधारभूत सेवासुविधा प्राप्त गर्न सक्छन् ।” प्रदेश प्रमुख खापुङले जिल्ला समन्वय समितिको उद्देश्य, लक्ष्य र जिम्मेवारी पूरा गर्नका निमित्त आवश्यक कानून निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
“जनप्रतिनिधिहरुले जनताको आधारभूत आवश्यकता पूरा गर्नसक्नुपर्छ । यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्छ”, उनले भने, “जनताको अधिकार सुनिश्चितता नभएसम्म राष्ट्रिय एकतासमेत बलियो हुँदैन । देशलाई एकतावद्ध बनाएर मूलुकको पहिचान बचाउन जनप्रतिनिधिहरुबीच सहकार्य आवश्यक छ ।” जनताको अवस्थामा परिवर्तन नआएसम्म देशमा सङ्घीयता कार्यान्वयन भएको नमानिने उनले बताए ।
“भौतिक पूर्वाधार विकास भए पनि जनताको बाँच्न पाउने अधिकार सुनिश्चित भएको छैन भने त्यो विकास भएको मानिँदैन । जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारहरुसँगै जनताको गाँस, बास र कपास सुनिश्चिततामा ध्यान दिन जरुरी छ”, उनले भने, “जनताले प्रत्यक्षरुपमा सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिधिले काम गर्नुपर्छ । यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक छ । अनिमात्र जनताको अवस्था परिवर्तन सम्भव छ ।”
प्रदेश प्रमुख खापुङले जनप्रतिनिधिहरुले जनताको शिक्षा, रोजगारी र अधिकारलाई ध्यानमा राखेर अगाढि बढ्नुपर्ने बताए । जिल्ला समन्वय समिति महासङ्घ नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम ९पिएलजिएसपि०को संयुक्त आयोजनामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवम् कानूनविद् हरि रोकाले ‘नेपाली विशेषताको सङ्घीयता’ शीर्षकको कार्यपत्र पेश गर्नुभएको थियो । प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति महासङ्घ नेपालले सम्मानसमेत गरेको छ ।
दिक्तेलस्थित सोल्मामा आयोजित साकेला उँभौली कार्यक्रममा समेत सहभागी हुन दिक्तेल आउनुभएका प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति खोटाङले मायाँको चिनो स्वरुप वाबु ‘चिण्डो’ उपहार दिएको छ ।
जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष कमल थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजन मेहता तथा पदाधिकारी, कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा समन्वय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति महासङ्घ नेपालले ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठी सातवटै प्रदेशमा आयोजना गरेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।