खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको अध्यक्षमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न पहिलो जिल्ला भेलाबाट थापा निर्वाचित भएका हुन् ।
थापा र डा.राजकुमार राई अध्यक्षमा आकाङक्षी थिए। थापा र राईमध्ये एकलाई अध्यक्षमा छनोटका लागि उपस्थित रहेका सदस्यहरुलाई अवसर दिंदा थापाको पक्षमा बहुसंख्यक सदस्यहरु उभिएका थिए।
थापाको अध्यक्षतामा गठन भएको १० सदस्यीय जिल्ला समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टंक कुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल छन्।
एक उपसभापति र तीन सदस्य पछि समावेशी र भुगोलका आधारमा मनोनयन गरिने रास्वपाले जनाएको छ । जिल्ला भेला गराउन रास्वपाकी केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सदस्य तोसिमा कार्की र सह–प्रवक्ता रमेश प्रसाईं दिक्तेल आएका थिए ।
हेलिप्याडमा सभा गरेर जिल्ला समन्वय समितिको पूरानो सभाहलमा बन्द सत्र गरेर जिल्ला समिति गठन गरिएको रास्वपाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर संयोजक पर्शुराम थापा आशिषले जानकारी दिए । थापाका अनुसार केन्द्रीय सदस्य कार्की र सह–प्रवक्ता प्रसाईं आजै ओखलढुंगा लागेका छन् ।