खोटाङ, ९ भदौ । नेकपा एमाले खोटाङले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने सुझाव दिने निर्णय गरेको छ ।
विद्यान संशोधन प्रस्तावमाथिको छलफलका क्रममा एमालेका बहुसंख्यक नेताले पूर्वराष्ट्रपति राष्ट्रको सम्मानित र साझा व्यक्ति भएर बस्नु उचित हुने सुझाव पेश गरेका हुन । भदौ ९ गते हलेसी न्युजनेट वर्कको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले केन्द्रीय कमिटिले पठाएको ‘अपानि–१२’)लाई उपयुक्त ठहर गरिएको जानकारी दिए ।
आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिबेसन हुँदैछ । त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ ८ गते जिल्ला स्तरिय सुझाव संकलन कार्यक्रम राखेको थियो ।
विधान संशोधन प्रस्तावमाथि सुझाव संकलनका क्रममा कतिपय नेता तथा कार्यकर्ताले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक लगाउन नहुने धारणा पनि राखेका थिए । तर बहुमतले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने सुझाव दिने निर्णय गरिएको एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले बताए ।
विरोधीबाट पार्टी र नेतृत्व विरुद्ध आक्रमण र घेराबन्दी गर्ने प्रयत्न भइरहेको भन्दै एमालेले पार्टी र नेतृत्वको रक्षा गर्नु आफ्नो दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै, एमालेले पार्टी छाडेर अन्य पार्टीमा गएका नेता तथा कार्यकर्तालाई पुःन एमालेमै फर्काउन अभियान चलाउने, पार्टीको कोशी प्रदेश स्तरिय समृद्धिको खाका निर्माणका लागि पालिका र वडासम्म पुगेर सुझाव संकलन गर्ने, मातहतका कमिटिलाई वार्षिक कार्यायोजना निर्माण गर्न लगाउने र त्यसका लागि सहजीकरण गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।