खोटाङ, १३ माघ । नेपाली कांग्रेस खोटाङ- काठमाण्डाै सम्पर्क समितिले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अभियानका लागि एकता सन्देश कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको आयोजनामा मंगलवार काठमाडौँको अनुपम फुडल्याण्डमा नेपाली कांग्रेसका उम्मेदवार विरकाजी राईको जित निकाल्नका लागि एकता सन्देश कार्यक्रम गरेको हो ।
समितिका सचिव नवराज वनका अनुसार खोटाङे कांग्रेसजनलाई एकताबद्ध गर्दै निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाली कांग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिका सभापति गोपाल सैंजुको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरकाजी राई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती बजिमय, केन्द्रीय सदस्य सुवाशकुमार पोखरेल, कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राई लगायत कांग्रेसका एक दर्जनभन्दा बढी अग्रज नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीको सन्दर्भमा कांग्रेसको भूमिका र जिम्मेवारीबारे चर्चा गर्दै खोटाङको विकास र समृद्धिका लागि विरकाजी राई उपयुक्त र सक्षम उम्मेदवार भएको बताएका थिए।
साथै, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबै कार्यकर्ता र शुभेच्छुकलाई एकजुट भएर लाग्न आह्वान गरिएको थियो।
कार्यक्रमले काठमाडौँमा रहेका खोटाङे कांग्रेसजनबीच उत्साह, एकता र चुनावी ऊर्जा थपेको कांग्रेसले जनाएको छ ।
