खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ सम्वन्धी अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा संक्रमितलाई अलग्गै राखेर उपचार गर्ने व्यवस्थाका लागि नगरपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो ।
अस्थायी कोभिड–१९ अस्पतालका लागि आवश्यक जनशक्तीका लागि बुधबार १५ दिने विज्ञापन आव्हान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
यातायात सेवा सुचारु भएको तथा दशैंतिहार जस्ता चाडवाड नजिकीदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमा कोरोना संक्रमण दर फैलने खतरा बढिरहेकाबेला नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।
अस्थायी कोभिड अस्पताल स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगरपालिकालाई १० लाख उपलव्ध गराएको छ । अपुग रकम नगरपालिकाले बेहोर्ने जनाइएको छ ।
तर अस्थायी कोभिड अस्पताललाई दुर्छिम वा हलेसीमा राख्ने भन्ने विषय टुंगो लाग्न बाँकी छ । अस्थायी अस्पताल राख्ने स्थानको निर्णय नगरकार्यपालिकाको बैठकले गर्ने नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।
कोरोनाबाट संक्रमितलाई आफ्नै पालिकाका उपचार गर्ने व्यवस्थाका लागि नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो । अस्थायी अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्तीका लागि विज्ञापन आव्हान गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमित फेला परेमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल स्थापनाको तयारी गरिएको नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् ।
कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी थालिसकेको छ ।