खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माण सुरु भएको छ। कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासम/स्वस्थ्य मन्त्री भूपेन्द्र राईले शुक्रबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेपछि भवन निर्माण सुरु भएको हो।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको बहुवर्षीय योजनाबाट विनियोजित तीन करोड रुपैयाँ बजेटमा साढे दुईतले पक्की भवन निर्माण हुन लागेको हो।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का प्रक्रिया सम्पन्न भई मोहन एण्ड बेँसीगाउँ–रुपाकोट–सरस्वती जे.भी.ले दुई करोड ६ लाख ४१ हजार ५४६ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ।
सम्झौताअनुसार चार कोठे साढे दुईतले भवन वि.सं. २०८४ पुस २३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ। पूर्वाधार विकास कार्यालयले निर्माण कार्यलाई समयमै सम्पन्न गराउन आवश्यक सहयोग तथा निरन्तर अनुगमन गर्ने जनाएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले लोकतान्त्रिक व्यवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका औँल्याउँदै पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, जिम्मेवार र विश्वासिलो बनाउन आवश्यक रहेको बताए। उनले आफ्नो कार्यकालमै पत्रकार महासङ्घको भवन निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित गरिएको उल्लेख गरे।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले भवन निर्माण सुरु हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
“यो भवन खोटाङका सम्पूर्ण पत्रकारहरूको साझा सम्पत्ति हो,” उनले भने, “निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गराउन हामीले अनुगमन समिति गठन गरिसकेका छौँ।”
वि.सं. २०६१ सालमा स्थापना भएको महासङ्घ हालसम्म दिक्तेल बजारस्थित भवनगैरामा भाडाको घरबाट सञ्चालन हुँदै आएको छ। आफ्नै सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक जग्गा साकेला गाउँपालिका–२ रतन्छाका कृषिविज्ञ मदन राईले वि.सं. २०६३ सालमा दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा महासङ्घलाई निःशुल्क उपलब्ध गराएका थिए।