खोटाङ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित चएका छन् । रास्वपा खोटाङको आइतबार साँझ सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सर्वसहमतिले नयाँ नेतृत्व चयन नभएपछि गरिएको निर्वाचनमा ओजोनबाबु आचार्यलाई भारी मतले पराजित गर्दै थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
जिल्ला सभापतिका अर्का उम्मेदवार आचार्यले २८ मत ल्याउँदा थापाले ७८ मत ल्याएर सभापतिमा विजयी भएको जनाइएको छ । वि.सं. २०८१ पुस–१३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित भएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।नवनिर्वाचित जिल्ला सभापति थापाले यसअघि वि.सं. २०८१ पुस–१३ गते भएको प्रथम जिल्ला भेलामा डा. राजकुमार राईलाई पराजित गर्दै सभापतिमा पहिलो पटक निर्वाचित भएका थिए ।
उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन भएको जनाइएको छ । अधिकांश पदमा उम्मेदवार भएपनि उपसभापतिमा भुजेल र कोषाध्यक्षमा दाहालको एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले दुवै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार उद्धवप्रसाद आचार्यले २८ मत प्राप्त गर्दा थापाले ७१ मत ल्याएर सचिवमा विजयी भएका हुन् ।
सहसचिवमा राजन अधिकारी भारी मतले निर्वाचित भएका छन् । तीन जना उम्मेदवार रहेको सहसचिव पदमा अधिकारीले ६४ मत ल्याएर विजयी हुँदा दुर्वासा गेलालले २८ र भक्तबहादुर गिरीले नौँ मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा प्रकाश अधिकारीले ५२ र केशरबहादुर श्रेष्ठले २९ मत ल्याएर विजयी हुँदा चन्द्रबहादुर परियार निर्विरोध निर्वाचित भएको जनाइएको छ । ११ सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्थाअनुसार नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठकले तीन जना महिला सदस्य चयन गर्ने जनाइएको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको खोटाङमा निर्वाचन क्षेत्र १ (क) मा लवबहादुर गुरुङ ‘लक्की’ संयोजक, तुलाबहादुर खत्री सचिव र भीमण गुरुङ सदस्य चयन भएका छन् । निर्वाचन क्षेत्र नं. २ (ख) को अधिवेशन हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।
दिक्तेलबजारस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ज्ञवालीले गरेकी थिए । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सदस्य ज्ञवालीले पद तथा गोपणीयताको शपथ ग्रहण गराएकी थिइन् ।