खोटाङ, जेठ २५ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश कुमार राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। वडाध्यक्ष राईले सोमबार सामाजिक सञ्जाल मार्फत एमालेसँगको आफ्नो औपचारिक राजनीतिक आबद्धता समाप्त भएको जानकारी दिएका हुन्।
राई २०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यका रूपमा राजनीतिक यात्रामा सक्रिय थिए। उनले राष्ट्रिय युवा संघ नेपाल खोटाङको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युथफोर्स इन्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य र जिल्ला सचिवालय सदस्यलगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ को वडाध्यक्षमा निर्वाचित भएका राई २०७९ सालको निर्वाचनमा पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए।
लामो राजनीतिक यात्राका क्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा आम नागरिकबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै राईले ती अनुभवलाई आफ्नो राजनीतिक जीवनको अमूल्य सम्पत्ति भएको बताएका छन्।
उनले पार्टी त्याग्ने निर्णय कुनै व्यक्ति, समूह वा असन्तुष्टिको परिणाम नभएको स्पष्ट पार्दै समय, परिस्थिति र राजनीतिक दृष्टिकोणको स्वाभाविक विकासक्रमअनुसार नयाँ ढंगले जनताको सेवा गर्ने उद्देश्यले उक्त निर्णय लिएको बताएका छन्।
“मेरो यो निर्णय कुनै व्यक्ति वा समूहप्रति आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको परिणाम नभई आफ्नै राजनीतिक सोच, मूल्य, मान्यता र आगामी यात्राको दिशालाई आत्मसात् गर्दै लिइएको निर्णय हो,” राईले सामाजिक संजालमा भनेका छन्।
राईले आगामी दिनमा पनि लोकतन्त्र, सुशासन, सामाजिक न्याय, विकास र जनहितको पक्षमा दृढतापूर्वक उभिँदै जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
एमाले परित्यागसँगै राईको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ अघि बढ्छ भन्ने विषयमा भने उनले हालसम्म कुनै खुलासा गरेका छैनन्।