काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तासीन दल नेकपाको सचिवालय संवैधानिक परिषद् नभएको हेक्का राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद् तथा संवैधानिक नियुक्तिका विषयमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ‚ ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद् त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’ कांग्रेसले नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको पनि आरोप लगाएको छ।
‘संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रसले अध्यादेशमार्फत् संवैधानिक परिषद्को औचित्य समाप्त पार्ने असफल षड्यन्त्र हुनु र नेकपा सचिवालयका पछिल्ला बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा आफूलाई संलग्न गराउनुले बचेको गरिमा अन्त्य गर्ने दिशामा सरकार उद्धत रहेको पुष्टि भएको उनले आरोप लगाएका छन्। नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो।
त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।