काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको हो। दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठन र बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।
बिहीबारको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने विषयमा दुवै अध्यक्षबीच समझदारी भएको थियो। एक स्थायी कमिटी सदस्यका अनुसार अहिलेसम्म अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल हुने पक्कापक्कीजस्तै भएको छ। तर, सहरी विकास मन्त्रीमा भने कृष्णगोपाल श्रेष्ठ र सुरेन्द्र पाण्डेमध्ये एक जना हुने सम्भावना रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। यद्यपि पाण्डेले सार्वजनिक रुपमा अर्थ मन्त्रालय नपाए सहरी विकास मन्त्री नहुने बताइसकेका छन्।
यस्तै सञ्चार मन्त्रालयमा धेरै जनाले आकांक्षा राखेको नेताहरुले बताएका छन्। अहिलेसम्म सञ्चारमा जनार्दन शर्मा, महेश बस्नेत, पम्फा भुसाल, विशाल भट्टराई, राजेन्द्र गौतमलगायत नेताले आकांक्षा देखाएका छन्।