काठमाडौँ । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ । सरकारले विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेक अरूको परीक्षण र उपचार नगर्ने निर्णय गरेको थियो ।
स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गएको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा उल्लेख छ । सरकार कोरोना संक्रमितको उपचारबाट पछि हट्दै गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त निर्णयको आलोचना गरेका छन् ।
‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू ? यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन् ।
सोमबार ट्वीट गर्दै थापाले थपेका छन्, ‘सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ भनेर सिधै भनिदिनुस् प्रधानमन्त्रीज्यू ।’
थापा आफैं कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो ।
नागरिकको उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । सरकारले यसअघि लक्षण देखिएका नागरिकको परीक्षणदेखि उपचारसम्मको व्यवस्था गर्दै आएको थियो ।
कोरोना संक्रमित संख्या दिनहुँजसो वृद्धि भइरहेका बेला सरकारले कोरोना बीमा गरेको भए बीमाबाटै व्यहोर्ने र नगरेको भए आफ्नै खर्चबाट परीक्षण तथा उपचारको व्यवस्थापन गर्नुपर्ने बताएको हो ।