काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत महासचिव पौडेलले पार्टी गम्भीर संकटमा पुगेको बताउदै संकट समाधानका लागि आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्नुपर्ने उनले बताएका छन्। पार्टी एकता रक्षाका लागि नेता कार्यकर्ता सबैले एकजुट हुनुपर्ने तर्क पनि गरेका छन्।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ उनले भनेका छन्, आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
पार्टीभित्र राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको किचलो, पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु र भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयले विवाद उत्कर्षमा पुगेको छ। यही विवादले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको दूरी समेत बढेको छ।
शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ११ दिनपछि भेटवार्ता भएको थियो। भेटको क्रममा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओली सकारात्मक बनेपनि सहमति बन्न सकेन। यसअघि पनि पार्टीभित्रको विवादलाई ओली र दाहालबीच पटक पटक छलफल गर्दा समेत निष्कर्षमा पुग्न सकेको छैन।
ओलीसँग दुरी बढेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग समेत सहकार्यको लागि प्रस्ताव गरेका थिए। तर, ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेता नेपालले ओलीको प्रस्ताव अस्वीकार गरिरहे।
अध्यक्ष दाहाल बालुवाटार आउन नमानेपछि शुक्रबार प्रधानमन्त्री ओलीले आफूनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।