खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले एक दिने श्रम शिविर सञ्चालन गरेको छ । गत असोज १८ र १९ गतेको नेकपा जिल्ला सचिवालय कमिटिको बैठकको निर्णय अनुशार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जन्तेढुंगा कमिटिले शुक्रबार एक दिने श्रम शिविरको आयोजना गरेको हो ।
जिल्ला सचिवालय कमिटिको निर्णय लगत्तै असोज ३० गतेको गाउँपालिका कमिटिको अर्को निर्णय अनुशार जन्तेढुंगाका ६ वटै वडामा एकैदिन श्रमशिबिरका माध्यमबाट सडक तथा गोरेटो बाटो मर्मत गरिएको नेकपा जन्तेढुंगा गाउँपालिका कमिटिका अध्यक्ष यामकुमार राईले बताए ।
नेकपाको गाउँ पालिका कमिटिको समन्वयमा सम्वन्धित वडा कमिटिको अगुवाईमा वर्षाका कारण बिग्रे÷भत्केका सडक तथा गोरेटो बाटो मर्मत सम्भार गरिएको हो ।
नेकपाले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा मैनटारदेखि सिक्किमटार जोड्ने सडक मर्मत गरेको छ । सो सडक वर्षाको पहिरोले भत्काएको थियो ।
यस्तै देबिस्थानकै खनियाबासदेखि रिला जोड्ने सडक र गोरेटो बाटो मर्मत गरिएको छ । जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा ह्यूराङदेखि पाँडेगाउँ जाने सडक मर्मत गरिएको नेकपाले जनाएको छ । बंशिलाघाट जोड्ने ह्यूराङ–पाँडेगाउँ सडक गत कात्तिक ९ गतेको वर्षाले भत्किएको थियो ।
श्रम शिविरका माध्यमबाट पहिरोले भत्काएको सडकको पर्खाल लगाइएको छ । यस्तै, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा सालम्बुदेखि बुँवा खोलासम्मको सडक मर्मत गरिएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा कुईभीर भञ्ज्याङखर्क सडक खण्डको एक किलोमिटर खण्ड मर्मतका साथै नाली काट्ने काम गरिएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा सुरुङ्खेलदेखि मैदानसम्मको दुई किलोमिटर लामो पुरानो गोरेटो बाटो मर्मत गरिएको छ ।
जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा ऐतिहासिक जन्तेढुंगाको परिषर सरफाई गरिएको नेकपा गाउँपालिका कमिटिका अध्यक्ष राईले बताए । श्रमशिबिरमा ज्येष्ठ नागरिक ७६ वर्षीय लक्षुमान रोईलाको समेत सहभागीता रहेको थियो ।