खोटाङ । कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन ल्याएको छ ।
कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । मंगलवारबाट सञ्चालनमा ल्याइएको अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।
अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि बिनियोजन गरेको ३५ लाख बजेटबाट कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एमबिबिएस डा.प्रमोद चौधरीसहित २ जना स्टाफ नर्स, १ जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी नियुक्त गरेको छ ।
गाउँपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

वडाध्यक्ष सम्शेरबहादुर कार्कीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना रार्ई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,स्वास्थ्य संयोजक एवम् स्वास्थ्यकर्मीहरू तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थििति रहेको जनाइएको छ ।