• ट्रेण्डिङ:

प्रधानमन्त्री ओली सीमा निरीक्षणका लागि संखुवासभा तर्फ

प्रधानमन्त्री ओली सीमा निरीक्षणका लागि संखुवासभा तर्फ

रोदिक खबर

२६, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • प्रधानमन्त्री ओली सीमा निरीक्षणका लागि संखुवासभा तर्फ

    प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चीनसँगको सीमा नाका किमाथाङ्का नाका निरीक्षणका लागि गएका छन्।  दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बिहान हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका गएका हुन्।

    पार्टीभित्रको आन्तरिक किचलो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछन् ।

    संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ ।

    ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।

    किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्याम्ताङ भन्ने स्थानमा जानेछन् । च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् ।

    च्याम्ताङमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गर्दैछ । १४ किलोमिटर ट्रयाक खुलेपछि कोशी राजमार्गले चीनसँगको सिमाना छुनेछ । त्रिदेशीय महत्वको यो सडक निर्माणको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

    च्याम्ताङ पछि १ः३० बजे प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिन्दामा आयोजनाको ड्याम बनिरहेको छ ।

    ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ सुन्नेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।

    एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए । अरुण तेस्रोको हालसम्म करिब ४० प्रतिशत काम सकिएको बताइन्छ ।

    जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । सो क्रममा प्रदेश र प्रतिनिधिसभा सांसदका कुरा पनि उनले सुन्नेछन् ।

    फ्याक्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - ०९:२५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको