खोटाङ । सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको डाँडागाउँमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।
दशैं अघिदेखि नै सेवा सुरु गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र शुक्रबार गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले उद्घाटन गरेका छन् ।
सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउनेगरी बाँझेच्यानडाँडामा गाउँपालिकाकै पहिलो सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।
तत्कालका लागि एक जना अहेव र कार्यालय सहयोगी व्यवस्था गरेर स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
स्थानीय समाजसेबी जीवनकुमार राईले निःशुल्क जग्गा उपलव्ध गराएपछि गाउँपालिकाले एउटा शौचालय सहितको तीन कोठे भवन निर्माण गरेर सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको हो । स्वास्थ्यचौकीकै मातहतमा रहनेगरी स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा अनमी लगायतका आवश्यक जनशक्ती थप गर्ने जनाइएको छ ।
गाउँपालिकाका अन्य खण्डित भूगोलमा क्रमशः सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्दै जाने योजना रहेको जनाइएको छ । निर्वाचित भएकै वर्ष स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि आवश्यक ठाउँमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम पास गरेको गाउँपालिकाले केही समयपछि साकेला गाउँपालिका–३ खिदिमामा सामुदायीक स्वास्थ्य इकाई केन्द्र विस्तारको लक्ष्य राखेको जनाएको छ ।
‘हामी निर्वाचित भएकै वर्ष खण्डित भूगोलमा बसोबास गर्ने जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम तय गरेका थियौँ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘निःशुल्क प्राप्त भएको जग्गामा भवन निर्माण गरेर स्वास्थ्य इकाई केन्द्रको सेवा सुरु गरिएको हो । क्रमशः अन्य खण्डित भूगोलमा स्वास्थ्य इकाई केन्द्र स्थापना गर्दै जाने छौँ ।’
सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटनकाक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।