खोटाङ । खोटाङका चार स्थानीय तहमा अस्पताल स्थापनाका लागि भवन शिलान्यास गरिएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुशार सोमबार हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको तथा रावाबेँसी गाउँपालिकामा १० शैयाको अस्पताल भवन शिलान्यास गरिएको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा निर्माण गरिने अस्पतालको भवन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले, ऐसेलुखर्क गाउँपालिकामा निर्माण गरिने अस्पताल भवन प्रदेशसभा सांसद राजन राईले र जन्तेढुंगामा निर्माण गरिने अस्पताल भवन रामकुमार राई पासाङले शिलान्यास गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापनाका लागि नेपाल सरकारले सम्वन्धित स्थानीय तहलाई ३ करोड २३ लाख ३० हजार बजेट निकासा दिइसकेको छ ।
कुल १८ करोड ६ लाख ८२ हजारको सिमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने शर्तमा अस्पतालको भवन शिलान्यास गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
यस्तै, १० शैयाको अस्पताल निर्माणका लागि रावाबेँसी गाउँपालिकामा ८५ लाखको अख्तियारी आएको छ । रावाबेँसीमा १० करोड ८३ लाख ३६ हजार खर्चमा स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्नेगरी काम सुरु गरिएको छ ।

अस्पताल भवनको डिपिआर तयार पार्ने, टेण्डर आव्हान गर्ने र भवन निर्माण गर्नका लागि स्थानीय तहलाई नेपाल सरकारले भवनको नक्सा पठाएको छ ।
जिल्लाको केपीलासगढी गाउँपालिकामा पनि १५ शैयाको अस्पताल स्थापना गर्ने तयारी छ । यस्तै, साकेला गाउँपालिकाको रतन्छा स्वास्थ्यचौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने तयारी छ ।
स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नतीका लागि सरकारले ७ करोड ११ लाख ९८ उपलव्ध गराउने जनाइएको छ ।