काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक आयोगहरुमा भएको असंवैधानिक नियुक्तिको बदरको माग राख्दै रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् । सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन् ।
सभामुख सापकोटाले दर्ता गर्न लागेको रिटमा संवैधानिक परिषदले विभिन्न ११ निकायमा नियुक्तिका लागि गरेको सिफारिस, नियिुक्त र उनीहरुका काम कारवाही बदरको माग गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर गत मंसिर ३० गते अध्यादेशमार्फत विभिन्न ११ संवैधानिक आयोगहरुमा ३२ जना नियुक्त गर्न सिफारिस गरेका थिए ।
उक्त बैठकमा सभामुख सापकोटा सहभागी भएका थिएनन् । त्यस्तै गत आइतवार सभामुख सापकोटाले उक्त सिफारिस असंवैधानिक रहेको भन्दै फिर्ता पठाइदिएका थिए ।
यसअघि नै संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यद्यपि बुधवार राष्ट्रपति भवन शीतलनिवासमा नियुक्त ३२ पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।
कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।