काठमाडौं : सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता तथा सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो।
गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायतको उपस्थिति रहेको थियो।
मंगलबार दिउँसो मात्र देउवा र प्रचण्डबीच छलफल भएको थियो। देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकै कारणले गठबन्धन सरकारको आलोचना भइरहेको छ।