खोटाङ । नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले वर्तमान गठबन्धन केपी ओली विरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्ति बिरुद्ध भएको बताएका छन् । खोटाङका गठबन्धन दलले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले ओलीलाई मोहरा बनाएर मुलुकलाई असफल बनाउन उद्यत शक्तिका बिरुद्ध वर्तमान गठबन्धन भएको बताएका हुन् । “हामी केपी ओली बिरुद्ध गठबन्धन गरिरहेका छैनौं ।
एउटा व्यक्तिका बिरुद्ध यत्रो गठबन्धन बनाएर लाग्न जरुरी छैन । केपी ओलीलाई मोहरा बनाएर हाम्रो मुलुकलाई अस्थिर बनाउन, संविधानलाई कार्यान्वयन हुन नदिन, प्रतिगमन गर्न र मुलुकलाई तहसनहस बनाउन पछाडिबाट ठूलठूला प्रतिक्रियावादी शक्तिहरु लागिपरेका छन्,” पूर्वसांसद रहेका राईले भने, “त्यसैले हामी ओली वा एमाले बिरुद्धमा मोर्चा बनाइरहेका छैनौं ।
जनविरोधी, देश विरोधी र मुलुकलाई असफल बनाउन उद्यत देशी बिदेशी शक्तिका विरुद्ध गठबन्धन बनाइएको हो ।” अनुशासन आयोग प्रमुख राईले निर्वाचनमा पत्तासाफ हुने छनक देखेर एमालेले विक्षिप्त अवस्थामा राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने निर्णय गरेको दावी गरे ।
अर्को प्रशंगमा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख राईले बाम लोकतान्त्रिक आन्दोलन नै नेपालको निकास भएको उल्लेख गरे । उनले मुलुकमा कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ती एक ठाउँमा उभिएको ऐतिहासिक शिक्षाबाट वर्तमान गठबन्धन बनेको बताए ।
“कुनै पनि आन्दोलन सफल हुनुमा बाम र लोकतान्त्रिक शक्ती एक ठाउँमा उभिएको छ । यो ऐतिहासिक शिक्षा हो । यो हाम्रो नेपाली जनआन्दोलनको इतिहासले स्थापित गरेको चरित्र हो,” राईले भने, “यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वा अमुक मान्छेलाई मेयर उपमेयर बनाउन गठबन्धन भएको होईन ।
यो बाध्यताभन्दा पनि मुलुकको आवश्यकताले भएको हो । जन बिरोधी, नेपाल बिरोधी शक्तीले नेपाललाई अस्थीर, कमजोर र असफल राष्ट्र तुल्याउनका लागि गरिरहेको षडयन्त्रका बिरुद्धमा लोकतान्त्रिक वाम शक्ती एक ठाउँमा उभिनुपर्ने आजको ऐतिहासिक आवश्यकताको हो ।”
उनले नेपालको जनआन्दोलनको चरित्र संयुक्त आन्दोलन भएको स्पष्ट पारे । लोकतान्त्रिक र बाम शक्ती एक ठाउँमा नभिएसम्म कुनै पनि किसिमको परिवर्तन हुन नसकेको उनको टिप्पणी थियो । गठबन्धनको औचित्यता बारे स्पष्ट पार्दै जिल्लामा गठबन्धन हुन नसकेका ठाउँमा मित्रतापूर्ण प्रतिष्पर्धा गर्ने सन्देश प्रवाहका लागि गठबन्धनले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको हो ।
एमालेले जितेको ठाउँमा विपक्षीलाई पेल्योः बजिमय
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरस्वती बजिमयले सहकार्य र एकताबाट मात्र राजनैतिक निकास निस्कने बताईन् । उनले एमालेले जितेको ठाउँमा विपक्षी दललाई पेलेको चर्चा गरिन् ।
कांग्रेसका संघीय महाधिबेसन प्रतिनिधि सुवासकुमार पोखरेलले जिल्लाका वडातहसम्म गठबन्धन दलको सम्वन्ध सुमधुर र सहिष्णु बनाइने बताए । गठबन्धनबिचमा मित्रवत प्रतिष्पर्धा गर्न र एकअर्काप्रति लक्षित गतिविधि नगर्न सन्देश प्रसार गरिने जानकारी दिए ।
एमालेले मतदाता प्रभावित पार्ने काम गर्योः कार्की
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज समिता कार्की अस्मिताले गठबन्धनको उद्धेश्यप्रति इमान्दार बन्नुपर्नेमा जोड दिईन् । उनले एमालेले पैसा, त्रिपाल र पाईप बाँडेर मतदाता प्रभावित पार्ने काम गरिरहेको दावी गरिन् ।
जसपाका केन्द्रीय सदस्य सूर्यबहादुर राईले मनोनयन दर्ता गर्नु अगाडि गठबन्धनबीचमा घनिभूत छलफल हुन नसकेको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव राजन आचार्यले गठबन्धन लक्षित मतदाता शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।