खोटाङका १० पालिकामध्ये ६ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले २ र नेकपा माओवादी केन्द्र २ गाउँपालिकाको प्रमुखमा विजयी भएको छ।
जिल्लाका ६ पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेका थिए। चार पालिकामा भने स्वस्थ प्रतिस्पर्दा थियो। नेकपा एमालेले यस पटक २०७४ सालमा विजयी प्राप्त गरेका पालिका गुमाएको छ । उसले कांग्रेसले जितेका पालिकामा किल्ला गाढेको छ।
माओवादी केन्द्रले एउटा पालिका जितेको थियो त्यहाँ कांग्रेसले किल्ला गाढेको छ। हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकामा स्वस्थ प्रतिस्पर्दा थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐंसेलुखर्क गाउँपालिका, रावावेंसी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र वराहपोखरी गाउँपालिकामा गठबन्धन गरिएको थियो।
जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख कांग्रेसका उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसका प्रमुख एकीकृत समाजवादी पार्टीका उपप्रमुख, रावावेंसी गाउँपालिकामा कांग्रेसका प्रमुख माओवादीका उपप्रमुख, खोटेहाङ गाउँपालिकामा माओवादीका प्रमुख कांग्रेसका उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसका प्रमुख माओवादीका उपप्रमुख, ऐंसेलुखर्कमा माओवादीका प्रमुख कांग्रेसका उपप्रमुख भागबण्डा गरिएको थियो।
ऐंसेलुखर्कमा कांग्रेसले बागी हालेपछि त्यहाँ प्रमुखमा एमाले विजयी भएको छ भने उपप्रमुखमा कांग्रेस विजयी भएको छ। केपिलासगढी गाउँपालिकामा जनता समाजवादी पार्टीले उपप्रमुख जितेको छ। चार दलीय गठबन्धनका कारण एमालेले ऐंसेलुखर्कको प्रमुखमा, रावावेंसीको उपप्रमुखमा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख, उपप्रमुखमा मात्र विजयी प्राप्त गरेको छ ।