शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेलमा नगर कार्यपालिकामा गठबन्धन, दिप्रुङमा एमालेको प्यानल विजयी

दिक्तेलमा नगर कार्यपालिकामा गठबन्धन, दिप्रुङमा एमालेको प्यानल विजयी

रोदिक खबर

१९, जेठ २०७९
  • 4.0K
    SHARES
  • दिक्तेलमा नगर कार्यपालिकामा गठबन्धन, दिप्रुङमा एमालेको प्यानल विजयी

     खोटाङ, १९ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको उम्मेदवार विजयी भएका हुन् ।

    २५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट ५ जना तथा दलित वा अल्पसंख्यक समुदायबाट ३ सदस्य चयन गर्नेक्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

    निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा बिक, मिना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र बिक र बिरेन्द्र दर्नाल विजयी भएका छन् । १५ वडाका वडाध्यक्ष, मेयर र उपमेयर सहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप ८ सदस्य चुनिएका हुन् । त्यसमध्ये भागवण्डामा कांग्रेस र माओवादी केन्द्रका ३/३ जना, जसपा र नेकपा एसका १/१ जना मिलाइएको छ ।

    संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरुले आफुमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।

    २५ सदस्यीय नगर कार्यपालिकामा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रका छन् । त्यस बाहेक माओवादी केन्द्रको ९ जना, कांग्रेसको ७ जना, एमालेको ३ जना, जसपाको ३ जना र नेकपा एसका १ जना सदस्य बनेका छन् ।

    नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, नेकपा एस ७ र जसपा २ पदमा विजयी भएका थिए । दलित समुदायबाट ३ सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ ।

    यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका भने एमालेको प्यानल विजयी भएका छन् । गाउँसभाका सदस्यहरुले आफुमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्य समेत गाउँकार्यपालिकाको सदस्य हुने व्यवस्था अनुसार सुव्बा माझी, कला परियार, निर्मला श्रेष्ठ (मकाजु), विमला परियार, स्वस्तीका भुजेल र कुष्णकुमारी राई निर्वाचित भएका हुन् ।

    ७ वडा रहेको गाउँपालिकामा ३० बैसाखमा सम्पन्न निर्वाचनबाट ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए । मतदानमा एमालेको पक्षमा २० मत र गठवन्धनको पक्षमा १६ मत खसेको थियो । एक मत बदर भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - १५:०७:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको