माओवादी केन्द्र खोटाङले भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु गर्ने

माओवादी केन्द्र खोटाङले भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु गर्ने

रोदिक खबर

१०, भाद्र २०८०
  • 7.3K
    SHARES
  • माओवादी केन्द्र  खोटाङले  भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु गर्ने

    खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले भदौ १६ गतेदेखि  जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिको भदौ ७ गते बसेको छैठौं पूर्ण बैठकले केन्द्रीय कमिटिको निर्णय अनुसार आगामी भदौ १६ गतेदेखि जिल्लाभर घर घरमा माओवादी, जनजनामा माओवादी भन्ने नारासहित अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।

    माओवादी केन्द्रले अभियानको पुर्वतयारीमा भदौ १४ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहको बैठक गर्ने निर्णय गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।तीन महिने अभियानका क्रममा हिजोको माओवादी भएर जिल्लाका एक लाख ४६ हजार दुई सय मतदातासँग भेटघाट गर्ने लक्ष्य राखिएको नेपाल कम्यूनिष्ट पार्टी ९माओवादी केन्द्र० जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे आकाशले जानकारी दिए ।

    अभियानका दौरान संगठन सुदृढिकरण तथा विस्तार, भेटघाट, शहीद परिवार, घाइते तथा अपांग, बेपत्ता परिवार, पूर्व लडाकु, सहयोगी, चन्दादाता, कार्यकर्ता, समर्थक लगायतसँग भेटघाट गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अभियान अवधिभर आठ हजार पार्टी सदस्यता नवीकरण तथा वितरण गरिने संयोजक पाण्डेले बताए ।

    माओवादी केन्द्रले लम्पी स्किनका कारण पशुचौपायमा क्षती बेहोरेका किसानलाई क्षतीपुर्ती दिन र रोग नियन्त्रण गर्न तथा देशभर फैलिइरहेका आँखा पाक्ने रोग नियन्त्रणका लागि का लागि तीन वटै तहका सरकार समक्ष माग गर्ने, जिल्लामा समाजवादी मोर्चा गठन गर्न घटक दलहरुसँग पहल गर्ने निर्णय गरिएको जनाएको छ ।

    यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, बिजुली लगायतका भौतिक पुर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, गुणस्तरहीन तथा निर्माण कम्पनीको लापरबाहीका विषयलाई व्यवस्थित गर्न आवश्यकीय पहल कदमी गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अनियमितता, वेथिति, भ्रष्टाचार विरुद्ध र सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा चालेको सकरात्मक कदको पक्षमा ऐक्यवद्धताका लागि आव्हान गर्दै सो कदमलाई सफल पार्न निरन्तरता दिन आग्रह गरेको छ ।

    प्रदेशको पुःन नामाकरणका लागि पहल गर्ने निर्णय माओवादी केन्द्रले प्रदेश १ को पुःन नामाकरणका लागि पहल गर्ने निर्णय गरेको छ । प्रदेशको नामाकरणको क्रममा भएको कमजोरीप्रति प्रदेश कमिटिले आत्माआलोचना गरिसकेका कारण पार्टीको मुल मर्म र भावना अनुरुप उत्पीडित समुदायको पहिचानलाई आत्मसाथ गर्दै पुःन नामांकनको पहल गर्ने निर्णय गरिएको माओबादी केन्द्रका केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडाले बताए ।

    पहिचानको आधारमा प्रदेशको पुःन नामाकरण गर्न संघर्ष गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज चम्पा कार्की आशा, केन्द्रीय सदस्य नगेन्द्र राई, दुर्गाजयन्ती राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १०:१७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको