प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरातसहित आठजना पहिचानवादी नेताहरु पक्राउ परेका छन् ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले हिजो र आज प्रदेशभरी यातायात बन्द घोषणा अन्तर्गत दिक्तेलको रत्नपार्कमा आईतबार बिहान यातायात बन्द गराउने क्रममा खोटाङ संयोजक किरातसहितका नेताहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार संघर्ष समिति संयोजक किरातसहित निर्मल राई, लक्ष्मी राई, संगीता किरात, मेलिना राई, सोनामहाङ राई, सुनिल राई, उपार्जुन चाम्लिङ राई रहेका छन् ।
दिप्रुङबाट दिक्तेल हुँदै काठमाण्डौ जाने गाडीको पहिचानवादी नेताहरुले रत्नपार्कमा चाँबी खोसेपछि र प्रहरीसँग भनाभन भएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पहिचानवादीले रोकेका गाडीलाई प्रहरीले स्कटीङमा गन्तब्यतर्फ पठाएको छ ।
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो। बन्दका कारण खोटाङमा हिजो र आज यातायात ठप्प छ ।